राजनीति

एमाले अध्यक्ष ओली सहितका नेताहरु सशस्त्र बेस बरमझियामा

लहान- सप्तरीमा प्रहरीको गोलीबाट मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुलाई सुरक्षा घेराबीच सशस्त्र प्रहरी बल गण बरमझिया सप्तरीमा पुर्याइएको छ। मेची–महाकाली अभियान अन्तर्गत गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा भैरहेको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक युवकको निधन भएपछि अवस्था तनावग्रस्त बनेको थियो।

                कार्यक्रम स्थलको अवस्था तनावग्रस्त भएपछि एमाले अध्यक्ष ओली, नेताहरु माधव कुमार नेपाल, सत्यनारायण मण्डल, लालबाबु यादव सहितका नेताहरुलाई सशस्त्र प्रहरी गण बरमझीयामा पुर्याइएको पूर्व क्षेत्रीय प्रहरी प्रमुख(डिआईजी) रमेश भट्टराईले जानकारी दिए। उनले भने‘उहाँहरुलाई अहिले सुरक्षितसाथ राखिएको छ, अगाडिको कार्यक्रम तय भईसकेको छैन्।’ ‘उहाँहरु आफै सुरक्षा अवस्था मूल्याँकन गरेर जे कार्यक्रम तय गर्नुहुन्छ सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइने छ’ उनले थपे।

                बरमझिया भन्दा पूर्व भारदहमा समेत तनाव छ। प्रदर्शनकारीहरु सडकमा टायर बालेर अवरोध गरेकाले सुरक्षा अवस्थाको मूल्याँकन गर्दै नेताहरु ईटहरी नगई बरमझियामै रात्री वास वस्ने सम्भावना छ, एक सुरक्षा अधिकृतले बताए।

सिरहाको कार्यक्रम हुने नहुने अन्यौल 

यता, सप्तरी मलेठ–२ का अन्दाजी १८ वर्षीय सन्जन मेहताको प्रहरीको गोलीलागि निधन भएको आक्रोशमा लहानमा मोर्चाका कार्यकर्ताहरु सडकमा टायर बालेर सवारी आवगमन अबरोध पारेका छन् । मेची–महाकाली अभियान अन्तर्गत सोमवारका सिरहाको गोलबजार नगरपालिकाको जनता माविमा हुने भनिएको कार्यक्रम सप्तरीको घटनाले हुने नहुने अन्यौल छ। निर्धारित कार्यतालिका अनुसार आईतवार सप्तरीको कार्यक्रम सम्पन्न गरी अध्यक्ष ओली सहितका नेताहरु सिरहाको चोहर्वा स्थित एमाले नेता लिलानाथ श्रेष्ठको निवासमा रात्री वास बस्ने कार्यक्रम थियो।

                आईतवार श्रेष्ठ निवासमा पत्रकार सम्मेलनमार्फत सोमवार हुने गोलबजारको कार्यक्रमको तयारी पुरा भैसकेको जानकारी एमाले सिरहा अध्यक्ष प्रमोद यादवले दिए । उनका अनुसार मोर्चाका कार्यकर्ताहरुको अवरोधका बाबजुद ४५ हजार जनता उतार्ने दावी गरे । प्रत्येक निर्वाचन क्षेत्रबाट ५ हजारका दरले र निर्वाचन क्षेत्र नम्बर ५ बाट १० हजार जनता कार्यक्रममा सहभागी हुने एमाले केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठले जानकारी दिए । उनले भने मोर्चाका साथीहरुलाई लोकतान्त्रीक स्वरुपमा विरोध गर्न आग्रह गर्छु उनले भने,‘कार्यक्रम नै बिथोल्ने हिसावको निषेधयुक्त कार्य नगर्न आग्रह गदर्छु।’

प्रकाशित: २३ फाल्गुन २०७३ १३:४७ सोमबार

एमाले अध्यक्ष ओली सहितका नेताहरु सशस्त्र बेस बरमझियामा