राजनीति

नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्र टुंगो लाग्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताएका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लाग्ने बताएका हुन्।

उनले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नभएर होल्ड भएर बसेको र खारेज समेत नभएको अवस्था रहेको भन्दै सोही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणिकरण गराउने विषयमा पनि छलफल भइरहेको बताए।

उनले भने, ‘दुईवटै सम्भावना म देख्छु। त्यहाँ उपस्थित भएको सुझावको आधारको एउटा बाटो। अर्को बाटो फेरि यही सदनबाट नै, अहिलेको यो नयाँ सदनबाट त्यसको विषयमा एउटा या त संकल्प प्रश्तावमार्फत। या अरु कुनै प्रस्तावमार्फत् राष्ट्रपतिलाई त्यो विधेयकको बारेमा प्रमाणिकरण गर्न अनुरोध गर्ने बाटो एउटा हुनसक्छ। या अर्को क्याबिनेटबाट डिसिजन गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुनसक्छ। तर अब त्यो विधेयकलाई खारेज गरेर फेरि अर्को विधेयक ल्याउने बारेमा पनि मतहरु छन्। फेरि सदनमा अर्को विधेयक ल्याएर त्यो जिरोमा गयो। त्यसकारण जिरोमा गइसकेको विधेयकलाई, मृत भइसकेको विधेयकलाई जीवित मान्न सकिँदैन भन्ने मत पनि सदनभित्र पनि छ। सदन बाहिर पनि छ। यो विषयमा छलफल चलेको छ। प्रधानमन्त्रीको हैसियतले मेरो के कोशिस छ भने एक महिनाभित्रै यसको टुंगो लाग्छ।’

प्रकाशित: ४ जेष्ठ २०८० ०८:३७ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल