राजनीति

मुलुक आर्थिक रुपमा संकटमा रहेकाले नयाँ योजनाहरु थप हुँदैन: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफू नयाँ योजनाहरु थप गर्ने पक्षमा नरहेको बताएका छन्।

आफ्नो मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटको सिलिङ ५५ अर्ब घटेकाले नयाँ योजनाहरु थप गरेर अघि बढ्न सकिने अवस्था समेत नरहेको उनको प्रष्टिकरण थियो।

बुधबार अपराह्न सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरी उनले मुलुक आर्थिक रुपमा संकटमा भएकाले पनि नयाँ योजनाहरु थप गर्न नसकिने तर्क समेत गरे।

आगामी आर्थिक वर्षमा नयाँ योजनामा नजाने तर पुरानै योजनालाई राम्रोसँग सम्पन्न गर्ने आफूहरुको नीति रहेको मन्त्री ज्वालाको भनाई थियो। उनले योजना तय गर्ने विषयमा मन्त्री तथा सांसदहरुको दबाबमा आफू नपर्ने पनि उल्लेख गरे।

उनले भने, ‘सबै कुरामा हामी कडाईका साथ जान्छौं। सबै जिम्मेवार हुनु पर्छ। मन्त्रीदेखि सबै जना जिम्मेवार बन्ने गरी नै हामी अगाडि बढछौं। कहीँकतै कसैले पनि गल्ती, कमजोरी ग¥यो भने छुट हुने अवसर हुँदैन। मन्त्रीहरुले, सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा परियोजनाहरु बढिभन्दा बढी घुसाउने होडबाजी हुन्थ्यो होला। अब हामीबाट चाहिँ जथाभाबी आफ्ना क्षेत्रमा मात्रै गर्ने जो प्रवृत्ति छ। एकैचोटी त कसरी अन्त्य गर्न सकिएला। त्यो दबाबमा हामी पनि छौं। मैले त अर्थमन्त्रीजीलाई के पनि भनेको हो भने हामी अहिले आर्थिक रुपमा पनि क्राईसेसमा छौं। समस्या छ। बजेटको सिलिङ पनि घटेको छ। ५५ अर्ब त हाम्रो नै घटेको छ नि। त्यसैले नयाँ प्रोजेक्टहरुलाई अगाडि बढाउन धेरै गाह्रो छ। यो घटेको सिलिङबाट नयाँ प्रोजेक्ट पनि अगाडि बढाउनु भनेको पुरानालाई मार पार्ने पनि त हो नि। त्यसकारण पुरानालाई चाहिँ एकदम राम्रोसँगले अगाडि बढाउने किसिमले जाऊ। नयाँ कुनै पनि मन्त्रालयको योजना तर हामी नयाँ प्रोजेक्टमा धेरै नजाने गरी प्रयत्न गरेका छौं। बजेट आएपछि त्यो पनि हेर्न पाउनु हुन्छ।’

त्यस अवसरमा मन्त्री ज्वालाले गलत काम गर्ने कर्मचारीहरुलाई आफूले नछोड्ने चेतावनी दिए।

प्रकाशित: ३ जेष्ठ २०८० १२:४४ बुधबार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला प्रकाश ज्वाला