राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी, खाँणसहितका आरोपीलाई थप ३ दिन हिरासत राख्न अनुमति

फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो। तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो। यसको तीन दिनपछि मोरङका सागर राईलाई पनि पक्राउ गरियो।\

पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालिन सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेता रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परेका छन्।

बादलका छोरा प्रतिक थापा, सल्लाहकार राईका छोरा निरज लगायत अझै फरार छन्। प्रकरणमा प्रहरी अनुसन्धान निष्कर्षतर्फ उन्मुख छ।

प्रकाशित: ३ जेष्ठ २०८० १२:१३ बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरण