राजनीति

कर्णालीका फुर्सदिला मन्त्री: एउटै कार्यक्रममा ६ जनाको भिड

नेपाल बैंकको शाखा उद्घाटनमा पुगेका मन्त्रीहरु। तस्बिर: नागरिक

कर्णाली प्रदेशमा आंसन्न आर्थिक वर्षका लागि बजेट निर्माण भइरहदा एउटा बैंकको शाखा उद्घाटन कार्यक्रमका मन्त्रीहरुको लामालस्कर देखिएको छ। 

सुर्खेतमा नेपाल बैंक लिमिटेडको नयाँ शाखा उद्घाटन  कार्यक्रममा फुर्सदिला जस्तै कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित ६ जना मन्त्रीहरु भिड देखिएको हो।

कर्णालीमा मुख्यमन्त्रीसहित ८ मन्त्री रहेका छन्। दुई मन्त्रीबाहेक बैंकको शाखा उद्घाटनमा सबै मन्त्रीहरु पुगेपछि कर्णालीमा फुर्सदिला र कार्यक्रमको महत्व नबुझ्ने मन्त्रीको संज्ञा दिदैं आलोचना समेत भएको छ। कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्मासहित जलश्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा, भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा, सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल बहादुर शाही बैंकको शाखा उद्घाटन जस्तो सामान्य कार्यक्रममा पुगेपछि सर्वत्र आलोचना भएको हो।

मन्त्रालयमा आगामी वर्षको बजेट निर्माणको चटारो भइरहदा मन्त्री फुर्सदिला भएर सामान्य कार्यक्रममा लामालस्कर भएर पुगेका हुन्। मन्त्रालयमा योजना माग्नेहरुको भिड् दिनानुदिन बढीरहेका बेला मन्त्रीहरु घुईचो सामान्य कार्यक्रममा हुन थालेको हो। मन्त्रालयहरुमा हिजोआज बजेटमाथि छलफल तिव्र गतिमा भईरहेको छ। तर, कर्णाली मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई त्यसको कुनै वास्ता नै नभएजस्तो कार्यक्रमको महत्व नै नबुझेर भिड लाग्ने गरेको पाइएको छ।

प्रकाशित: ३ जेष्ठ २०८० ११:०६ बुधबार

कर्णाली प्रदेश