राजनीति

मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर भएनः प्रमुख सचेतक गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर नभएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले यस्तो आरोप लगाएका हुन्।

उनले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ? त्यसको जानकारी दिनुपर्ने बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजानको लागि सरकारले गरिरहेका कामको बारेमा जनतालाई यथार्थ जानकारी दिन माग गरे। सरकारले अर्थतन्त्र मन्दीको स्थितिमा जाँदा समेत गम्भिर हुन नसक्ने राम्रो नभएको उनले बताए। उनले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा अर्थमन्त्रीलाई बोलाएर समितिमा छलफल गर्न आवश्यक रहेको बताए।

उनले भने,‘ मुलुकको व्यापार व्यवसाय  चौपट स्थितिमा छ। आम नागरिक एकदमै अत्यास लाग्दो अवस्थाबाट गुज्रिएको अवस्था छ। यति बेला सरकारले के गर्दैछ। अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजानको लागि सरकार के गर्दैैछ। सरकारले जनतालाई आश्वस्त पार्नेगरी बाहिर केही ल्याउन सकेको छैन। ठिक छौं विगतको भन्दा प्रगति भएको छ भन्ने गरेको छ। कुनकुन क्षेत्रमा कसरी सुधार गरेर अगाडि बढ्ने भनेर संसदलाई जानकारी दिएको छैन। यो धेरै गम्भिर विषय छ। त्यसैले समितिमा अर्थतन्त्रीलाई बोलाएर मुलुकको अर्थतन्त्रको अवस्था के हो। आर्थिक मन्दीमा गएको अवस्थामा माथि उठाउनको लागि सरकारले के गर्दैैछ भनेर छलफल गर्न आवश्यक रहेको छ। नेप्सेलाई नै धरासायी बनाउने गरी केही ठूला व्यवसायीकहरुको मिलेमत्तोमा निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज दिने गरी हतारहतारमा काम गरियो। देशलाई लुट्ने यस्ता खालका खेलहरु कहाँबाट हुन्छन्। नयाँ साझेदार ल्याउने कुरा भएकोमा नयाँ एक्सचेन्ज ल्याउने तयारी भयो। यो विषयमा के भएको हो तत्काल समितिले छानबिन गर्नुपर्छ।’

प्रकाशित: २ जेष्ठ २०८० ११:१९ मंगलबार

पदम गिरी