काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र निर्वाचन नचाहने दुबै अतिवादी प्रवृत्ति भएकाे बताएका छन्।
शुक्रबार काभ्रेको कामिडाँडामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्ताे बताएका हुन्।
‘मुलुक खुकुरीको धारमा भएको बेला प्रधानमन्त्रीको जिम्मेवारी लिएको छु,' उनले भने, 'संविधान कार्यान्वयन गर्ने चुनौती हाम्रो सामु छ। एकथरि मान्छेहरु कुनै हालतमा संविधान संशोधन हुनै हुन्न भन्छन्, अर्कोथरि मान्छेहरु चुनाव हुनै दिन्नौं भन्छन्। एउटा हिङ नभए खानै नबस्ने, अर्को हिङ भए भित्रै नपस्ने। यी दुई अतिवाद नै मुलूकको प्रमूख समस्या हो। संशोधन र निर्वाचन नचाहने शक्तिहरु एउटै हेडक्वार्टरबाट परिचालन त छैनन् ? व्यवहार हेर्दा त्यस्तै लाग्छ।’
स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘अहिले स्थानीय तहको निर्वाचन नगर्ने हो भने मंसिरमा प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिँदैन। संघीयता नचाहने र मन नपराउनेहरु स्थानीय तहको निर्वाचन नहोस् भन्नेमै छन्। सिंहदरबारको अधिकार गाउँ, टोलसम्म पुगेको उनीहरु देख्न चाहँदैनन्। संविधानको जननी माओवादी हो, रगतसँग साटिएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि माओवादीकै हो, त्यसैले स्थानीय तहको निर्वाचन कुनै हालतमा रोकिँदैन, रोक्न सकिँदैन।’
कामिडाँडा नेपाली राजनीतिको स्मरणयोग्य ठाउँ भएको प्रधानमन्त्रीले बताए।
‘१२ बूंदे सम्झौता भएको थियो, जनआन्दोलन भएको थियो । तर, शान्ति सम्झौता भएको थिएन । युद्धलाई क्रान्तिकै बाटोमा अघि बढाउने वा शान्ति प्रक्रियामार्फत् स्थायित्व दिने भन्नेमा ठूलै बहस थियो । मैले अन्तिमपटक जनमुक्ति सेनालाई सुप्रिम कमाण्डरका हैसियतले यहीँ निर्देशित गरेको थिएँ । यहीँको बैठकले देशमा शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र र नयाँ संविधान भयो । त्यसैले कामिडाँडा नेपाली राजनीतिको असाध्यै स्मरणयोग्य ठाउँ हो ।’
प्रकाशित: २० फाल्गुन २०७३ १४:०५ शुक्रबार