राजनीति

बागमती प्रदेश: अर्थमन्त्री लामालाई थप ३ मन्त्रालयकाे जिम्मेवारी

आन्तरिक भागवण्डा मिलाउन नसक्दा बागमती प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। यसैबीच बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी आइलागेको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिएका हुन्। योसँगै मन्त्री लामासँग अब चार वटा मन्त्रालयको जिम्मेवारी रहेको छ।

उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयसँगै वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी थपिएको हो। प्रदेश प्रमुख शर्माले सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख गरेका छन्।

प्रदेशको ११ मन्त्रालय मध्ये ६ वटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त रहेका थिए। ५ वटा मन्त्रालय मन्त्रीविहीन रहँदै आएको थियो। सत्तारुढ दलको बीचमा भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन नसकेपछि मुख्यमन्त्री जम्कट्टेलले नेपाली कांग्रेसका नेता लामालाई नै थप ३ मन्त्रालयको जिम्मेवारी दिएका हुन्। यसो हुँदा समेत अझै प्रदेशको २ मन्त्रालय मन्त्रीविहीन अवस्थामै रहेको छ।

प्रदेशको ११ मन्त्रालयमध्ये सोमबारदेखि ५ वटा कांग्रेसले सम्हालेको छ भने माओवादी केन्द्रले ४ मन्त्रालय सम्हाल्दै आएको छ। प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन्। यी मन्त्रालय भने मुख्यमन्त्री जम्कट्टेलले नै सम्हाल्दै आएका छन्।

मुख्यमन्त्री तथा मन्त्रीहरुले केही दिन भित्रै मन्त्रालय भागवण्डाको विषय टुङ्गो लाग्ने भाषण तथा प्रतिक्रिया दिँदै आएको भए पनि आन्तरिक किचलोका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

प्रकाशित: १ जेष्ठ २०८० १४:०० सोमबार