राजनीति

सार्कका नयाँ महासचिव सियाल

काठमाडौं- पाकिस्तानी कूटनीतिज्ञ अमजद हुसेन बी. सियालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को  नयाँ महासचिवको जिम्मेवारी सम्हालेका छन्। आगामी तीन वर्षसम्म सियालले सो जिम्मेवारी काठमाडौंस्थित सार्क सचिवालयमा रहेर निर्वाह गर्ने छन्।

यसअघि नेपालका अर्जुनबहादुर थापा सार्क महासचिव थिए। थापाको कार्यकाल मंगलबार सकिएपछि पाकिस्तानी कूटनीतिज्ञ सियालले बुधबारदेखि नयाँ महासचिवको जिम्मेवारी सम्हालेका हुन्। सदस्य राष्ट्रको नामको अंग्रेजी बर्णानुक्रम अनुसार पालैपालो महासचिव हुने प्रावधान छ। यसैअनुरुप सियालको नाम पाकिस्तानले पठाएको हो।

महासचिव सियाल पाकिस्तानको विदेश सेवामा ३३ वर्ष विताएका अनुभवी कूटनीतिज्ञ हुन्। उनले इस्लामाबादस्थित नेसनल डिफेन्स युनिभर्सिटीबाट प्रतिरक्षा तथा रणनीति विषयमा स्नातकोत्तर गरेका छन्। द्विपक्षीय र बहुपक्षीय कूटनीतिमा उनी अनुभवी मानिन्छन्। उनले सन् २००३ देखि २००६ सम्म सार्क सचिवालयमा पाकिस्तानको तर्फबाट निर्देशकको रुपमा कार्य गरेका थिए।

सियालले सन् २०११ देखि २०१४ सम्म ताजकिस्तानका लागि पाकिस्तानी राजदूत भएका थिए। सार्क महासचिव हुनुअघि उनी पाकिस्तानी विदेश मन्त्रालयमा विशेष सचिवको रुपमा कार्यरत थिए।

प्रकाशित: १९ फाल्गुन २०७३ ०३:०६ बिहीबार

सार्कका महासचिव सियाल