राजनीति

एकमुष्ट भर्ना विवादले स्ववियु निर्वाचन अन्यौलमा

जुम्ला— चुनाव जित्नकै लागि  एकमुष्ट भर्ना गरिएको विषयलाई लिएर विद्यार्थीबीच विवाद भएपछि जुम्ला बहुमुखी क्याम्पस जुम्लाको स्ववियु चुनाव अन्यौलमा परेको छ। विद्यार्थी विवादका कारण १८ गते स्ववियु चुनाव नहुने निश्चित भएको हो।

जबसम्म विद्यार्थी संघ संगठन जिम्मेवार हुन सक्दैनन, तबसम्म नयाँ कार्यतालिका बनाएर चुनाब नहुने उनले ठोकुवा गरे।

‘फागुन १८ गते स्ववियु चुनाव हुन सक्दैन’, क्याम्पस प्रमुख वसन्तराज भण्डारीले भने, ‘विद्यार्थीबीच सहमति भए फागुन २२ देखि २३ गतेसम्म गर्न सकिने अवस्था रहन्छ।’

विवाद कायमै रहे फागुन महिनाभित्र स्ववियु चुनाव हुन नसक्ने क्याम्पस प्रशासनले जनाएको छ।  नेकपा एमाले निकट अनेरास्ववियुले एकमुष्ट भर्नाको राजश्व तिरेको भौचर लिएर क्याम्पस गएपछि नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघले क्याम्पसमा ताला लगाएको थियो। एक पछि अर्को गर्दै नेविसंघ र अनेरास्ववियुले पनि क्याम्पसमा ताला लगाएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको थियो।

अनेरास्ववियु जुम्लाका अध्यक्ष लोकेन्द्रराज गिरीले एक मुष्ट भर्नाका विषयमा छानविन नहुँदासम्म निर्वाचन हुन नदिने बताए। ‘क्याम्पसमा पावर र पहुँचका आधारमा चुनाव जित्नकै लागि गरिएको भर्नाबारे क्याम्पस प्रशासनले छानविन गर्न जरुरी छ’, उलने भने। नेकपा माओवादी केन्द्र निकट अखिल ( क्रान्तिकारी ) ले एकमुष्ट भर्नाबारे छानविन गरेर तोकिएको मितिमा निर्वाचन गराउन माग गरेको छ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अम्मर महतले अनेरास्ववियु र नेविसंघका सभापतिका उम्मेदवारले भर्ना नगरेकोले निर्वाचनलाई लत्याएर हुन नदिने षडयन्त्र भइरहेको बताए।

नेक्रा विसंघ जुम्लाले ठूला दलका विद्यार्थी संगठनहरुले निर्वाचन जित्नकै लागि फर्जी विद्यार्थी भर्ना गरेको भन्दै आपत्ति जनाएको छ। सचिव राजन नेपालीले नियमित क्याम्पस जाने विद्यार्थीले नै स्ववियुको नेतृत्व गर्न पाउनु पर्ने वताए । उनले भने, ‘जुम्लाका विद्यार्थी संघ संगठनका कुनै पनि नेता नियमित विद्यार्थी जाँदैनन्।’ उनीहरुको हातमा स्ववियु जादा यहाँका विद्यार्थीको हक अधिकारको संरक्षण हुन नसक्ने उनको भनाई छ।

क्याम्पस प्रमुख भण्डारीले एकमुष्ट भर्ना त्रिभुवन विश्वविद्यालयबाट रद्ध गर्ने परिपत्र आएकोले छानविन गरिने बताए। ‘चुनाव नहुनुमा क्याम्पसको दोष छैन, क्याम्पसको स्ववियु हाँक्ने विद्यार्थी संघ संगठनको हो। जबसम्म विद्यार्थी संघ संगठन जिम्मेवार हुन सक्दैनन, तबसम्म नयाँ कार्यतालिका बनाएर चुनाब नहुने उनले ठोकुवा गरे।

छानविन समिति गठन
जुम्ला बहुमुखी क्याम्पसमा एकमुष्ट भर्ना गरेको भन्दै चलेको विवाद समाधानका लागि छानविन समिती गठन गरिएको छ। सहायक क्याम्पस प्रमुख प्रकाश चन्द्र खत्रीको संयोजकत्वमा ९ सदस्यीय छानविन समिती गठन गरिएको हो।
समितीले आजै देखि एकमुष्ट भर्नाबारे छानविन गर्नेछ। छानविन समितिमा जुम्लाका क्रियाशिल विद्यार्थी संगठनका प्रतिनिधि पनि छन्। छानविन समितिको प्रतिवेदनका आधारमा निर्वाचन कार्यतालिका बनाएर निर्वाचन गरिने क्याम्पस प्रमुख भण्डारीले बताए।
 

प्रकाशित: १६ फाल्गुन २०७३ ११:०३ सोमबार

एकमुष्ट भर्ना विवादले स्ववियु निर्वाचन अन्यौलमा