राजनीति

स्ववियू निर्वाचन अधिकृतलाई कालोमोसो, विद्यार्थी संगठनबीच झडप

कालिकोट- नन्दादेवि बहुमुखी क्याम्पस कोटवाडाका स्ववियु निर्वाचन अधिकृत रत्नसिंह साउदलाई कालो मोसो दलिएको छ।  फागुन १८ गते हुने स्ववियु निर्वाचन १६ गते नै घोषणा गरेर सदरमुकाम फर्किएकाले नेपाल विद्यार्थी संघ र अनेरास्ववीयु कालिकोटले साउदलाई कालो मोसो दलेका हुन्।

नन्दादेवी बहुमुखी क्याम्पसमा तीन वटा विद्यार्थी संगठन स्ववियु निर्वाचनका लागि दर्ता भए पनि अखिल क्रान्तिकारीले क्याम्पस प्रशासनसँग मिलेर लक्ष्मण बुढालाई सभापतिमा घोषणा गरेपछि साउदलाई नियन्त्रणमा लिन खोजिएको बताइएको छ। सोमवार कालिकोट सदरमुकाम मान्ममा विद्यार्थीहरु नाराबाजी गरेका छन्। कोटवाडाको क्याम्पसमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानल बनेको छ। सो क्रममा विद्यार्थी संगठनबीच झडप समेत भएको छ। झडपमा १२ जना घाइते भएका छन्।

नेविसंघ कालिकोटका अध्यक्षले भने, ‘कानुनलाई आफ्नो हातमा लिएर माओवादीले आफ्नो शिक्षक संगठनको जिल्ला अध्यक्षलाई निर्वाचन अधिकृत बनाए । निर्वाचन अधिकृत र अखिल क्रान्तिकारीको मिलीमतोमा निर्वाचन घोषणा गरिएकाले केहि साथीहरुले धरपकड गरेका हुन।’ घोषणा गरिएको निर्वाचन फिर्ता लिएर पुनः कानुनी ढंगले निर्वाचन प्रक्रियामा  नजादासम्म आन्दोलन गर्ने नेविसंघ र अनेरास्ववियुले चेतावनी दिएको छ।

त्यस्तै अखिल क्रान्तिकारीले पनि निर्वाचन अधिकृतलाई कालो मुसो दलेर बजारमा अपमान गरेको भन्दै चर्को विरोध गरेको छ । दुई प्यानलको विचमा नाराबाजि भईरहेको छ। प्रहरीले दुई समुहको विचमा सुरक्षा दिईरहेको छ । अखिल क्रान्तिकारीले सभापति घोषणा गरेकाले अब फिर्ता नलिने भन्दै नारावाजी गरीरहेका छन् ।

प्रकाशित: १६ फाल्गुन २०७३ ०८:५९ सोमबार

स्ववियू निर्वाचन अधिकृतलाई कालोमोसो विद्यार्थी संगठनबीच झडप