राजनीति

संशोधन पारित हुनेमा कांग्रेस 'ढुक्क'

काठमाडौं- नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव पारित हुने भन्दै तराई/मधेेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई आश्वस्त पारेको छ।

कांग्रेस संसदीय दल कार्यालय सिंहदबारमा आइतबार बिहान तराई–मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदसँगको छलफलमा सभापति शेरबहादुर देउवासहितका नेताले प्रस्ताव पारित हुने आश्वासन दिएका हुन्।

संविधानलाई सर्वस्वीकार्य बनाउँदै सबै पक्ष निर्वाचनमा सहभागी हुने वातावरण बनाउन पनि संशोधन आवश्यक रहेको नेताहरूले दोहोर्‍याएका छन्। प्रमुख प्रतिपक्षी एमालेसहितका दल अन्तिम समयसम्म संशोधन पक्षमा आउने विश्वास व्यक्त गर्दै कांग्रेस नेताहरूले यसबारे छलफल भइरहेको जानकारी ती सांसदलाई गराएका छन्।

संविधान जारी हुनु पहिला नै तत्कालीन पार्टी सभापति सुशील कोइरालासहित प्रमुख राजनीतिक दलले संशोधनमार्फत असन्तुष्ट पक्षलाई समेट्ने आश्वासन दिएको स्मरण गराउँदै त्यही स्पि्रटमा अहिले पार्टी अघि बढेको नेताहरूले बताएका थिए।

छलफलमा कांग्रेस शीर्ष नेताले वर्तमान सरकार गठनअघि  मधेस केन्द्रित राजनीतिक दल, कांग्रेस र माओवादी केन्द्रबीच पनि असन्तुष्ट पक्षलाई संविधानको मूलधारमा ल्याएर संविधान कार्यान्वयन गर्ने सहमति भएको उल्लेख गर्दै सरकारले सोहीअनुसार संशोधन विधेयक ल्याएको बताएका थिए।

छलफलपछि सभापति देउवाले संविधान संशोधन विधेयक पारित हुने बताए। 'एमालेसँग पनि कुराकानी भइरहेको छ। संशोधन विधेयकमा एमाले पनि सहभागी हुन्छ,' देउवाले सञ्चारकर्मीसँग भने, 'हरहालतमा प्रस्ताव पारित हुन्छ।'

कांग्रेस सांसदले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म तराई/मधेसमा निर्वाचन वातावरण नबन्ने दाबी गरेका थिए।

कांग्रेस सांसद एवं केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले निर्वाचन वातावरण बनाउन संविधान संशोधन विधेयक पारित गर्न लाग्नुपर्नेमा सबैको एकमत रहेको जानकारी दिए।  'प्रस्ताव सम्पूर्ण तराई/मधेसका जनताको हितमा भएकाले पार्टी एक भएर पक्षमा लाग्नेछ,' उनले भने, 'मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन र संविधानप्रतिको असन्तुष्टि समाप्त पार्न संशोधन आएको हो।'

प्रकाशित: १६ फाल्गुन २०७३ ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App