राजनीति

गाउँगाउँमा चुनावी रौनक

स्थानीय निर्वाचनको मिति तोकिएपछि सुनसरीको सोनापुरस्थित मुस्लिम बस्तीमा प्रचारप्रसारका लागि टाँगिएका दलका झन्डा।

इटहरी- सुनसरी सोनापुर-२, ऋषिदेव बस्तीमा चुनावी चर्चा–परिचर्चा सुरु भएको छ। कोशी राजमार्गनजिकै पर्ने उक्त बस्ती सोनापुरका अरु बस्तीभन्दा पिछडिएको छ। यो बस्तीका बासिन्दालाई राजनीतिक दलले भोट बैंकका रूपमा प्रयोग गर्छन्। यहाँका बासिन्दा ऐलानी जग्गामा बसेको वर्षौ बितिसक्यो।

सुनसरीको निर्वाचन क्षेत्र ३ मा पर्ने यो बस्तीका बासिन्दाले थुप्रैपटक मधेसका 'मसिहा' मानिएका नेता विजयकुमार गच्छदारलाई जिताउन योगदान गरेका छन्। नेपाली कांग्रेसमा छँदा होस् वा मधेसवादी दलमा लागेपछि उनीहरूले गच्छदारलाई जिताउँदै आए। गच्छदारलाई जिताउँदा जग्गाको लालपुर्जा पाइने आशा उनीहरूमा थियो। तर अहिलेसम्म उनीहरूले लालपुर्जा पाउन सकेका छैनन्।

'पहिला चुनावका बेला त थुप्रै नेता गरिबका घर–घरमै पैसा पुर्‍याउन आउँथे, तर, यसपटक कुन नेता ठीक भनेर सोधीखोजी गरेर मात्र मत दिन्छु।'

'हाम्रो बस्तीमा अहिले फेरि चुनावी चर्चा सुरु भएको छ। अब भने हामीलाई जसले लालपुर्जा दिन सहयोग गर्छ, त्यही दलको नेतालाई विजयी गराउँछौ,' ऋषिदेव बस्तीका नसतर ऋषिदेवले भने, 'गाविसको चुनाव भयो भनेचाहिँ स्थानीय नेताले चिन्ने हुँदा सहयोग पाइन्छ भन्ने लागेको छ।'

दुई दशकअघि स्थानीय निकाय निर्वाचन हुँदा अब्दुल मियाँलाई गाविस अध्यक्षमा जिताउन योगदान गरेको सुनाउँदै उनले भने, 'गाविस अध्यक्षले त त्यतिबेला हामीले भनेको मान्थे।'

ऋषिदेव बस्तीका बासिन्दा वर्षौदेखि आफू बस्दै आएको घडेरीको लालपुर्जा पर्खाइमा छन्। 'सरकार परिवर्तन भएपिच्छे लालपुर्जा पाइन्छ कि भन्ने लाग्छ,' किसन ऋषिदेवले भने, 'आशा गर्दागर्दै वर्षौ बितिसक्यो। अब फेरि चुनाव हुने घोषणा भएको छ। हामीजस्ता गरिबको हित गर्ने नेतालाई जिताउँछौं।'

सरकारले वैसाख ३१ गते स्थानीय निकाय निर्वाचन गर्ने घोषणा गरेको छ। निर्वाचन मिति घोषणासँगै ऋषिदेव बस्तीभन्दा पश्चिमतर्फको मुस्लिम बस्तीमा त पूरै चुनावको माहोल बढेको छ। यो बस्तीमा पार्टीका झन्डासमेत गाड्न थालिएको छ।

बीस वर्षपछि स्थानीय जनप्रतिनिधि छनोट गर्न पाउनु गर्वको कुरा भएको तनमुना–२ कि गीता थानदारले बताइन्। 'चुनाव भएपछि गाउँको विकास त हुन्छ नै। अर्कातिर बेरोजगारले रोजगार पनि पाउने आशा हुन्छ,' उनले भनिन्। उनले भोट दिएर जिताएका नेतालाई काम लगाउन सजिलो हुने भएकाले पनि निर्वाचन भए राम्रो हुने अनुभव सुनाइन््। 'मेरो घरमा मात्र नौ भोट छ। जो नेताले राम्रो काम गर्छ, उसैलाई रोजेर मतदान गर्ने सोच छ,' उनले भनिन्। गीताका अनुसार, तनमुनाबाट उम्मेदवार हुने नेता भने खुलिसकेका छैनन्। 'चुनावको सबैतिर कुरा छ तर नेता को–को उठ्ने जानकारी छैन', उनले भनिन्।

दुहवीकै धर्म नारायण विश्वासले चुनाव मिति घोषणा भइसकेकाले सबै जना चुनाव सफल पार्न लाग्नुपर्ने बताए। 'जनप्रतिनिधि नहुँदा व्यापक भ्रष्टाचार बढेको छ, विकास निर्माण पनि सहज ढंगले हुन सकेको छैन,' उनले भने, 'असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्छ, त्यसले सबैलाई राम्रो हुनेछ।'

इटहरी– १२, खनारका दिलीप साह भोट हाल्न आतुर छन्। उनले यसअघि स्थानीय निकायमा भोट हालेको नेताको नाम नै बिर्सिसके। उनले यसअघि गाविस हुँदा मतदान गरेका थिए। अहिले खनार इटहरी उपमहानगरपालिकामा समेटिएको छ। उनी फुर्सद भएको बेला र साँझ–बिहान चिया पसलमा गफ सुन्न पुग्छन्। 'जुन पार्टीको भए पनि यसपटक राम्रा नेतालाई भोट गिराउँछु,' उनले भने, 'पहिला चुनावका बेला त थुप्रै नेता गरिबका घर–घरमै पैसा पुर्‍याउन आउँथे, तर, यसपटक कुन नेता ठीक भनेर सोधीखोजी गरेर मात्र मत दिन्छु।'

चुनाव मिति घोषणा भएसँगै सुनसरीका सहर, गाउँ, चोक–चोकमा यसैको चर्चा छ। चुनावमा उम्मेदवार हुने आकाक्षी नेतासमेत बढ्न थालेका छन्। 'चुनाव घोषणा भएपछि सोनापुर–दुहबी क्षेत्र तथा आसपासका चिया र रक्सी पसलमा चुनावकै कुरा हुन थालेको  छ,' पशुपति मैदा मील सोनापुरमा कार्यरत ललित यादवले भने।

विकासका लागि पनि चुनाव एकदमै आवश्यक भएको राजगन्ज सिनुवारीका देवनारायण मेहताले बताए। लामो समय स्थानीय निकाय निर्वाचन नहुँदा जनताले प्रतिनिधि छान्ने अवसर उपभोग गर्न पाएका छैनन्। 'निर्वाचन राम्रो कुरा हो। चुनिएका नेताले विकासमा चासो दिन्छन,' दुहबीकी फूलकुमारी साहले भनिन्।

प्रकाशित: १५ फाल्गुन २०७३ ०२:४८ आइतबार

गाउँगाउँमा चुनावी रौनक