राजनीति

प्रक्रियाभन्दा सहमतिमा एमाले जोड

काठमाडौं- संविधान संशोधन विधेयक राष्ट्रिय हितविपरीत भन्दै विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले सदनमा छलफलअघि नै त्यस विषयमा राजनीतिक दलबीच सहमतिको अपेक्षा गरेको छ। सभामुख ओनसरी घर्ती र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको बैठकमा प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली लचिलो बनेपछि संशोधन विधेयकमा छलफल गर्न बिहीबार सदनले स्वीकृति दिएको हो। दाहाल, घर्ती र ओलीबीचको बैठकपछि संशोधन छलफलमा प्रवेश गरे पनि एमालेले प्रक्रियाभन्दा पनि सहमतिमा जोड दिएको छ।

'यो संशोधन प्रस्तावका विषय संविधान अनुसार पारित हुन सक्दैन। यस विषयमा अदालतले समेत बोलिसकेको छ। विधेयकको व्यवस्था राष्ट्र हितविपरीत छ,' एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, 'सभामुखले १९ गतेसम्म संसद् स्थगित गर्नुभएको छ। यस अवधिमा नेताबीच सहमति भएर केही न केही निष्कर्ष निस्केला।'

प्रदेश सीमांकन हेरफेरसहित नागरिक, भाषा र राष्ट्रियसभाको गठन विषयमा सरकारले ल्याएको संविधान सशोधन प्रस्तावलाई सैद्धान्तिक छलफलमा लैजान सदनको बहुमतले पारित गरेको छ। सभामुखले विधेयकमा संशोधन प्रस्ताव हाल्न ७२ घन्टाको समय तोकेकी छिन्।

सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गरेपछि एमाले केही लचिलो बनेको छ। 'सरकार तर्फबाट निर्वाचन वातावरण बनाउन पनि छलफलका लागि आग्रह गर्दैै आएको छ,' प्रमुख सचेतक ढकालले भने, 'सरकार मात्रै होइन मधेसी मोर्चालाई समेत यो प्रस्ताव पारित गर्न संख्या पुग्दैन भन्ने थाहा छ। त्यसैले प्रक्रिया अघि बढाउन जोड हुन्छ जस्तो लाग्दैन।'

मधेसी मोर्चाले संविधान संशोधन नभईकन चुनाव हुन नसक्ने भन्दै आन्दोलन घोषणा गरेको छ। सरकार संविधान संशोधन गरी मोर्चालाई चुनावमा ल्याउन चाहन्छ।

सदनको बिहीबारको बैठकमा एमाले सांसद छलफलमा सहभागी नभएर मौन बसे।

प्रकाशित: १३ फाल्गुन २०७३ ०३:३० शुक्रबार

प्रक्रियाभन्दा सहमतिमा एमाले जोड