राजनीति

मधेस आन्दोलन मिलेर गर्न भट्टराईको प्रस्ताव

काठमाडौं- नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले मधेसी मोर्चासँग मिलेर आन्दोलन गर्न प्रस्ताव राखेका छन्। भट्टराईले मोर्चाका नेतालाई बिहीबार दिउँसो बबरमहल बोलाएर आन्दोलनमा सहकार्य गर्न प्रस्ताव राखेका हुन्। बबरमहलमा नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय छ।

सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन मिति तोकेका विरोधमा मोर्चाले आन्दोलन घोषणा गरेको छ। भट्टराईको प्रस्तावमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति जनाए पनि मोर्चाका अन्य नेताले घुमाउरो  पारामा असहमति जनाएका छन्। मोर्चाले यसबारेमा शुक्रबार बैठक गरी निर्णय गर्ने छ।

मोर्चासँग बैठक गर्नुअघि भट्टराईले बिहीबार बिहान फोरम नेपालका अध्यक्ष यादवसँग मिलेर विज्ञप्ति जारी गरेका थिए। संयुक्त विज्ञप्तिमा मोर्चाले अघि सारेका मुद्दामा भट्टराईले पूरै सहमति जनाएका छन्।

मोर्चाले अघि सार्दै आएको स्थानीय चुनाव प्रदेशसभाले गराउनुपर्ने मागमा भट्टराईले सहमति जनाएका छनु । यसैगरी विज्ञप्तिमा वैशाख ३१ गते तोकिएको स्थानीय चुनाव मिति सार्न पनि माग गरिएको छ।

भट्टराईले यसअघि बुधबार विज्ञप्तिमार्फत २०७४ माघ ७ भित्र तीनै तहको चुनाव हुनुपर्ने भन्दै त्यसका लागि सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग राखेका  थिए। तर बिहीबार यादवसँग मिलेर जारी गरिएको विज्ञप्तिमा मोर्चाको मुद्दालाई  प्राथमिकतामा राखिएको छ। पहिला प्रदेशसभा चुनाव हुनुपर्ने, प्रदेश मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्र निर्धारण गरी बाँकी भूगोललाई जनसंख्याका आधारमा स्थानीय तह बनाउनुपर्ने  लगायत मुद्दा संयुक्त विज्ञप्तिमा उठाइएको छ ।

स्रोतका अनुसार बिहीबार  नयाँ शक्ति र मोर्चाका नेताबीचको बैठकमा भट्टराईले नेपाली कांग्रेस र माओवादीको नियत संविधान संशोधन गर्ने पक्षमा नरहेको भन्दै संशोधनमा दबाब दिन सहकार्य गरी आन्दोलनको आँधी ल्याउनुपर्ने प्रस्ताव राखेका थिए। भट्टराईले आन्दोलनलाई अघि बढाउन नयाँ शक्ति र मोर्चाको संयुक्त संयन्त्र बनाउनुपर्ने प्रस्ताव पनि राखे।

भट्टराईको प्रस्तावमा मोर्चाका अन्य नेताले यसबारे मोर्चाले शुक्रबार बैठक गरी जबाफ दिने बताएका थिए। फोरम नेपालका अध्यक्ष्य यादवले भने मिलेर आन्दोनलमा गए अझै प्रभावकारी हुने भन्दै प्रस्तावको स्वागत गरेका थिए।

'नयाँ शक्ति र मधेसी मोर्चाबीचको बैठकमा उहाँ (भट्टराई) ले आन्दोलनमा सहकर्य गर्न प्रस्ताव राख्नुभयो', बैठकपछि मोर्चाका नेता केशव झाले भने, 'तर हामीले यसबारे बैठक गरेर निर्णय गर्छौं भनी जबाफ दिएका छौं। '

स्रोतका अनुसार यादवबाहेक मोर्चाका अन्य नेता भट्टराईको विशेष सक्रियातमा संविधान जारी भएको भन्दै तत्काल उनीसँग मिलेर आन्दोलनमा जान नहुने पक्षमा छन्। सद्भावना पार्टी महासचिव मनिष सुमनले आन्दोलनमा सहकार्य गरेर जान भट्टराईले राखेको प्रस्तावलाई मोर्चाले हुचुवाका भरमा समर्थन नगर्ने बताए।  'उहाँ (भट्टराई) ले संविधान जारी गर्न ठूलो भूमिका खेल्नुभयो तर  उहाँ अहिले आफैं सहकार्य गरेर आन्दोनलमा जाऔं भन्नुहुन्छ। उहाँ आफैं प्रस्ट हुनुहुन्न', सुमनले भने।  भट्टराईले मधेस आन्दोललाई सहयोग गर्न सक्ने तर उनीसँग सहकार्य गरेर जान नसकिने धारणा मोर्चाका एक नेताले राखे।  

राष्ट्रिय मधेस समाजवादीका उपाध्यक्ष शेखर सिहंले सहकार्य गरेर आन्दोलनमा जान भट्टराईले राखेको प्रस्तावलाई मोर्चाले गम्भीर रुपमा लिएको बताए। यसबारे मोर्चाले बैठक गरी छलफल गर्ने उनले जनाए।

स्रोतका अनुसार भट्टराईले मधेसी मोर्चासँग आन्दोलनमा  सहकार्य गर्न र संघीय गठबन्धनमा नयाँ शक्तिलाई आबद्ध गराउन चाहेका छन तर यसका लागि गठबन्धनमा नेतृत्व परिवर्नत हुनुपर्ने उनको चाहना रहेको मोर्चाका नेता बताउँछन्। हाल गठबन्धन नेतृत्व फोरम नेपाल अध्यक्ष्य यादवले लिएका छन्। भट्टराई र यादव पछिल्लो समयमा नजिकिँदै गएका छन्। यादवले संघीय गठबन्धनमा नयाँ शक्तिलाई आबद्ध गराउन चाहेका छन तर नेतृत्व भने हस्तान्तरण गर्ने पक्षमा उनी छैनन्।

नयाँ शक्तिमा मनमुटाव

भट्टराईले फोरम नेपालका अध्यक्ष यादवसँग मिलेर विज्ञप्ति जारी गरेको विषयलाई लिएर नयाँ शक्ति पार्टीभित्रै विवाद सिर्जना भएको छ।

नयाँ शक्ति केन्द्रीय परिषद्का नौ सदस्यले बिहीबार नै संयुक्त विज्ञप्तिमार्फत भट्टराईको निर्णय स्वेच्छाचारी भएको भन्दै त्यसको  विरोध गरेका छन्। भट्टराईले पार्टीलाई चुनाव विरोधी देखाएको भन्दै पार्टीको संस्थागत निर्णयविपरीत एकल निर्णय गरेको आरोप उनीहरूले लगाएका छन्। भट्टराईको एकल निर्णय फिर्ता लिन पनि उनीहरूले माग राखेका छन्।

निर्मल भट्टराई, मोहन बम, देव लिम्बु, हरिराम नेपाल, चन्द्रदेव ओझा लगायतले विज्ञप्तिमार्फत भट्टराईको निर्णयको आलोचना गरेका हुन्।

प्रकाशित: १३ फाल्गुन २०७३ ०३:२४ शुक्रबार

मधेस आन्दोलन मिलेर गर्न भट्टराईको प्रस्ताव