राजनीति

खाणसँगको सम्बन्ध खोज्दै प्रहरी

नक्कली भुटानी शरणार्थी प्रकरण

फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाणको आर्थिक कारोबार भएनभएको पक्षमा प्रहरी अनुसन्धान केन्द्रित भएको स्रोतले बतायो।  

‘अडियो सार्वजनिक भएपछि प्रहरीले त्यसमा अनुसन्धान गर्छ नै तर बालकृष्ण खाण र यसमा जोडिएको आरोप लागेकी कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच आर्थिक कारोबार भएनभएको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ, त्यसमा खाणपत्नी मन्जुको नाम पनि जोडिएको छ। अडियोमा एकसाथ दुवैजनाको नाम जोडिएकाले अनुसन्धानको दायरामा आउने अवस्था छ,’ प्रहरी स्रोतले भन्यो।  

सो अडियोमा आफूलाई अनाहकमा मुछ्ने काम भएको दाबी आरजु राणाले गरेकी छन्। बिरामी भएर जापानमा उपचार गराइरहेको अवस्थामा आफूमाथि आरोप लगाइएको दाबी उनको छ। त्यस सन्दर्भमा आरजुले बुधबार नै प्रहरीको साइबर ब्युरोमा छानबिनका लागि उजुरीसमेत दिइसकेकी छन्। प्रहरीले भने यी सबै पक्षमा अनुसन्धान गर्ने भएको छ। प्रहरीले पक्राउ गरेका गिरोहका सदस्यले आफ्नो बयानमा एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण तथा आरजु राणाको समेत नाम लिएपछि प्रहरीले उनीहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै बुधबार पूर्वगृहमन्त्री खाणलाई पक्राउ गरेको हो।

‘आरजु राणाले आफू निर्दोष छु भन्नुभएको हामीले सुन्यौं तर पक्राउ परेकाहरूले उहाँको पनि नाम लिइरहेका छन् त्यस विषयमा के हो भन्ने कुरा त प्रहरीले थाहा पाउनुपर्रयो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा जोजो संलग्न छन्, तिनीहरू सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले कुनै पनि प्रकारको दबाबमा नपर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्। प्रहरीले पनि त्यसमा संलग्न रहेका पूर्वउपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई अनुसन्धानको दायरामा ल्याएको छ।  

प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापाको गिरोहका सदस्यसँगको सम्बन्धबारे पनि सूक्ष्म अनुसन्धान गरिरहेको छ। त्यसैगरी पूर्वगृहसचिव महेश्वर न्यौपाने, पूर्वगृहमन्त्री थापाले नियुक्त गरेका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकलाई पनि प्रहरीले निगरानीमा राखेको छ। प्रहरीका अनुसार अहिलेसम्म उनीहरूलाई पक्राउ गरिहाल्नुपर्ने सम्बन्ध देखिएको छैन। थापा गृहमन्त्री भएका बेला भुटानी शरणार्थी समस्याको स्थायी र दीघकालीन समाधानका उपायहरू पहिल्याउन कार्यदल गठन भएको थियो। कार्यदल गठन गर्दा गृहसचिव प्रेमकुमार राई थिए।  

प्रहरीले पक्राउ गरेका गिरोहका सदस्यले आफ्नो बयानमा एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण तथा आरजु राणाको समेत नाम लिएपछि प्रहरीले उनीहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै बुधबार पूर्वगृहमन्त्री खाणलाई पक्राउ गरेको हो।

उनले गृहमन्त्रीकै निर्देशनमा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल गठन गरेका थिए। यसमा तत्कालीन गृहमन्त्री थापा र सचिवको संलग्नताबारे प्रहरीले अहिलेसम्म केही बताएको छैन। बालकृष्ण खाण मन्त्री हुँदा उनी निकट रहेका नेताहरू पनि यो प्रकरणमा तानिने प्रहरीको दाबी छ। तर कोको भन्ने बारेमा प्रहरीले केही बताएको छैन। तत्कालीन गृहसचिव राई (हाल प्रमुख अख्तियार दुरूपयोग अनुसन्धान आयोग) लाई बुझाइएको र मन्त्रालयमा रहेको प्रतिवेदन उनी अवकाश भएपछि अनुकूल तोडमरोड गरी दुरूपयोग गरिएको छ। सक्कली प्रतिवेदन भने प्रधानमन्त्री कार्यालयमा भेटिएको हुँदा प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएको छ। यो प्रतिवेदन नभेटिएको र गृह मन्त्रालयमै रहेको नक्कली प्रतिवेदनकै भरमा भने राईलाई समेत लतार्ने उद्देश्य राखिएकोमा हाल यो खड्गो भने टरिसकेको बताइन्छ।

खाण–गिरोह सम्बन्ध

भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गर्न बनेको कार्यदलले बनाएको प्रतिवेदन टेकनारायण पाण्डेले नै बाहिर पठाएका थिए। पाण्डेलाई गृहमन्त्री खाणले नै आफू मन्त्री भएको केही दिनमा मन्त्रालयमा सरुवा गरेर ल्याएका थिए। सचिव पाण्डेले मन्त्रीकै निर्देशनमा सबै काम गरेको बताउँदै गर्दा उनले नै प्रतिवेदन गिरोहका नाइके केशव दुलाललगायतलाई दिएका थिए। दुलाल सुजाता कोइराला उपप्रधानमन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए। उनी कोइराला परिवारसँग राम्रो सम्बन्ध भएको बताउने व्यक्ति हुन्। उनै दुलालको टिमले सो प्रतिवेदन हात पारेको थियो।

अहिले मन्त्रालयमा त्यसको मूल कपी नै छैन। भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गर्न भन्दै गृह मन्त्रालयले ३० जेठ २०७६ मा पन्थीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले २०७६ कात्तिकमा तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको थियो। तत्कालीन गृह सचिव राईले बुझेको प्रतिवेदन उनीपछिका गृह सचिव पाण्डेले गिरोहको हातमा पुर्रयाइदिएका थिए। ‘मन्त्रालयमा त्यतिबेला बुझेको प्रतिवेदन नै छैन, कसले कहाँ लग्यो भन्ने जानकारी पनि छैन,’ गृह मन्त्रालयका एक सहसचिवले भने।  

स्रोतका अनुसार खाणले पनि सो प्रतिवेदनलाई चाँडै कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए। सो निर्णयपछि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह थप सक्रिय भएको थियो।

मन्त्रालय स्रोतका अनुसार पन्थी नेतृत्वको कार्यदलसमक्ष ८७५ जनाले शरणार्थी गणनामा छुटेको भन्दै निवेदन दिएका थिए। तर कार्यदलले प्रमाण नभेटिएको भन्दै उनीहरूको नाम समावेश गर्न अस्वीकार गरेको थियो। कार्यदलले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (युएनएचसिआर) र जिल्ला प्रशासन कार्यालय, झापामा रहेको शरणार्थी समन्वय एकाइ (आरसियु) ले पहिचान गरेका ४२९ जनाको नाम अनुसूची ७ मा राखेको थियो। त्यही अनुसूचीलाई फेरबदल गरिएको प्रहरीको दाबी छ।

प्रहरीले अनुसन्धानका क्रममा गृह मन्त्रालयबाट लिएको प्रतिवेदन र कार्यदलका संयोजक र सदस्यहरूले दिएको बयान बाझिएपछि पक्राउ परेका सचिव टेकनारायण पाण्डेसँग पुन बयान लिएको थियो। बयानमा गृहमन्त्री खाणकै निर्देशनमा यो काम भएको पाण्डेले बताएका थिए। त्यो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दा खाण गृहमन्त्री र पाण्डे सचिव थिए। मन्त्रिपरिषद्ले २०७८ पुस ३० मा प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसअघि प्रतिवेदन अध्ययनका लागि सामाजिक समितिमा पठाइएको थियो। २०७७ फागुनमा सामाजिक समितिमा पठाइएको सो प्रतिवेदन गृहमन्त्री खाणकै पालामा मन्त्रिपरिषद्मा पुगेको थियो।

स्रोतका अनुसार खाणले पनि सो प्रतिवेदनलाई चाँडै कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए। सो निर्णयपछि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह थप सक्रिय भएको थियो। प्रहरी स्रोतका अनुसार सामाजिक मामिला समितिमा भएको प्रतिवेदन र पन्थीले बयानका क्रममा दिएको प्रतिवेदन भने मिलेको थियो। ‘त्यतिबेला एउटा प्रति सामाजिक समितिमा पठाइएको रहेछ, हामीले कार्यदलका संयोजकलाई बाहिर आएको प्रतिवेदन देखाउँदा यो होइन भन्नुभयो, उहाँहरूसँग भएको र समितिबाट मगाएको प्रतिवेदन भने मिलेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले भने। ती अधिकारीका अनुसार गृहमा भएको भनिएको प्रतिवेदनचाहिँ गिरोहले तयार पारेर बुझाएको रहेछ। प्रहरी स्रोतले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गिरोहका सदस्य ललितपुरका सानु भण्डारी, सन्देश शर्मा र मोरङका केशव दुलालसँग आर्थिक लाभ लिएर उनीहरूको प्रतिवेदनलाई गृहमा राखेको र मूल प्रतिवेदन उनीहरूलाई दिएको हुन सक्ने जनाएको छ।

प्रहरी स्रोतका अनुसार खाण गृहमन्त्री भएकै बेला गृहमन्त्रीस्तरीय निर्णयबाट २०७९ जेठ २७ मा पूर्वसहसचिव पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि पुनर्विचार गर्न भन्दै उपसचिव चोमेन्द्र न्यौपानेको संयोजकत्वमा अर्को समिति बनाइएको थियो। मन्त्रालयले त्यसबारे जिल्ला प्रशासन कार्यालय झापालाई पत्रसमेत पठाएको थियो। त्यतिबेला न्यौपाने झापाकै सहायक सिडिओ थिए। त्यही विषय बाहिर आएपछि खाणलाई अनुसन्धान गर्न प्रहरीलाई बल पुगेको थियो। खाणले नै ताकेता गर्न लगाएको सचिव पाण्डेले बयानमा भनेको र उनकै स्वकीय सचिव नरेन्द्र केसीमार्फत रकम बुझेको भन्ने आशंकमा प्रहरीको अनुसन्धान अघि बढाएको छ। गिरोहका एक सदस्य सानु भण्डारीले पाण्डेमार्फत मात्रै १ करोड २५ लाख रूपैयाँ बुझाएको बयान दिइसकेका छन्। खाणकी पत्नी मन्जुले समेत त्यसक्रममा रकम बुझेको अडियो सार्वजनिक भएको छ।

हालसम्म १२ जना पक्राउ

प्रहरीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं रूपैयाँ ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरिसकेको छ। भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा गत चैत १२ मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो। त्यसपचि प्रहरीले मोरङका सागर राई, ततकालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। वैशाख २० मा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे। यो प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्। इन्द्रजितका छोरा निरज पनि फरार छन्। रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन्। मंगलबार यही प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजना रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको थियो।

प्रकाशित: २८ वैशाख २०८० ००:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App