राजनीति

सद्भावनाका कार्यकर्ताद्वारा निर्वाचनको विरोधमा प्रदर्शन

मंगलबार बिहानको विरोध प्रदर्शनमा सद्भावना पार्टीका कार्यकर्ता। तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– संविधान संशोधन नगरी सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको भन्दै वीरगन्जमा विरोध भएको छ। मधेसी मोर्चाले अह्वान गरेको आन्दोलनलाई सफल बनाउन अह्वान गर्दै मोर्चामा आबद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका कार्यकर्ताले वीरगन्जमा प्रदर्शनसहित प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

सद्भावना पार्टी पर्साका उपाध्यक्ष ईश्वर यादव र वीरगन्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा रहेका नेता कार्यकर्ताले घण्टाघर चोकमा सरकार र तीन दलविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री दाहालको पुत्ला जलाएका हुन्। मोर्चाको सहमतिबिना चुनावको मिति घोषणा गरेर मधेशलाई माओवादी र काँग्रेसले धोका दिएको उनीहरुको आरोप छ।

‘संविधान संशोधन नगरी हुने चुनावको कुनै अर्थ छैन,’ यादवले भने, ‘हामी आन्दोलनमा गइसक्यौं ।’

विरोधसभालाई सम्बोधन गर्दै सर्राफले संविधान संशोधन बिना सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरेर देशमा मुठभेडको अवस्था निम्त्याउन खोजेको आरोप लगाए।

मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेका दाहालले धोका दिएको आरोप उनको छ। आगामी वैैशाख ३१ मा स्थानीय तह गर्ने घोषणा सोमबार सरकारले गरेलगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। मोर्चाले बुधबार ११ गते मधेस बन्द गर्ने घोषणासमेत गरेको छ।


 

प्रकाशित: १० फाल्गुन २०७३ १२:०६ मंगलबार

सद्भावनाका कार्यकर्ताद्वारा निर्वाचनको विरोधमा प्रदर्शन