राजनीति

निर्वाचन घोषणा ऐतिहासिक निर्णय : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई सरकारकोे ऐतिहासिक निर्णय भएको बताएका छन्। उनले भने, 'सरकारले ऐतिहासिक निर्णय गरेको छ। स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ। एकै चरणमा मुलुकभर स्थानीय तहको निर्वाचन हुन्छ।'

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सञ्चारकर्मीसँग प्रधानमन्त्रीले भने, 'लोकतन्त्र रक्षाका लागि परिवर्तनका सबै एजेन्डाको रक्षा र संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य विकल्प हो। सरकारले महŒवपूर्ण निर्णय गरेको छ।'

 उनले तराई–मधेस, हिमाली क्षेत्रमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउने निर्णय गरेको र त्यसले सबै वर्ग तथा क्षेत्रलाई समेट्ने र निर्वाचनको मार्गप्रशस्त गर्ने बताए।

 व्यवस्थापिका–संसद्मा टेबल गरिएको संविधान संशोधन प्रस्तावलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले सो प्रक्रिया सँगसँगै संघीय आयोग गठन गर्ने प्रक्रिया पनि सुरु भएको उल्लेख गरे।

सबै पक्षको सहमतिमा सरकारले निर्वाचन प्रक्रियालाई अगाडि बढाई मधेसी मोर्चालाई समेत सहमतिमा ल्याइने र उनीहरू पनि निर्वाचनमा केन्द्रित हुने प्रधानमन्त्रीको भनाइ थियो।

सबै मिलेर चुनाव सम्पन्न गरौं : कांग्रेस

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले २०७४ वैशाख ३१ गतेका लागि तय गरेको स्थानीय तहको निर्वाचनको स्वागत गर्दै मुलुकमा निर्वाचनको आवश्यकता रहेको बताए। उनले भने, 'चुनावमा जानु आवश्यक थियो, सबै मिलेर चुनाव सम्पन्न गर्नुपर्छ।'

सरकारले निर्वाचन मिति घोषणा गरेसँगै संयुक्त लोकतान्त्रिक मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्‍यो, अब मोर्चालाई कसरी मनाउनुहुन्छ? भन्ने प्रश्नमा नेता पौडेलले मोर्चाका माग सम्बोधन गर्न आफ्नो पार्टीले प्रयास गर्ने विश्वास दिलाए।

उनले भने, 'मोर्चा पनि निर्वाचनमा आउनुपर्छ। देशलाई चुनाव चाहिएको छ। उहाँहरूलाई सम्झाउने हाम्रो प्रयास रहन्छ।'

घोषित मितिमै हुनुपर्छ : एमाले

एमालेले पनि सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकामा स्वागत गरेको छ।

निर्वाचन मिति घोषणा गर्दै आएको सो प्रमुख प्रतिपक्षी दलले आगामी वैशाख ३१ मा घोषित स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै तयारी गर्न र कुनै पनि बहानामा समय अल्मल्याउने काम नगर्न माग गरेको छ।

एमाले उपाध्यक्ष भीमबहादुर रावलले भने, 'घोषित मितिमा निर्वाचन सम्पन्न हुनुपर्छ। अरू कुनै निहँु झिकेर अल्मल्याउने काम हुनु हुँदैन। स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन तुरुन्त अनुमोदन भई निर्वाचन आयोगलाई पठाइनुपर्छ।'

 संविधान संशोधन प्रस्तावका सम्बन्धमा सोधिएको जिज्ञासामा उनले त्यसका अन्तरनिहित विषय राष्ट्रहितमा नभएको भन्ने पार्टीको अडान कायमै रहेको तर सरकारले छलफलको प्रक्रियामा लान खोजेको हुँदा निर्वाचन मिति घोषणा भएको सन्दर्भमा त्यसमा छलफल गर्न आफूहरू तयार रहेको जनाए।

राप्रपाद्वारा पनि स्वागत

 सरकारले निर्वाचन मिति घोषणा गरेकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि स्वागत गरेको छ। पार्टी अध्यक्ष कमल थापाले सरकारले निर्वाचन गर्नु स्वागतयोग्य भन्दै निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दललाई आग्रह गरे।

उनले मधेस केन्द्रित राजनीतिक दललाई विश्वासमा लिएर निर्वाचनमा सहभागी गराउन पनि सरकारलाई आग्रह गरे।

प्रकाशित: १० फाल्गुन २०७३ ०२:४८ मंगलबार

निर्वाचन घोषणा ऐतिहासिक निर्णय प्रधानमन्त्री