राजनीति

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो: प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन्।

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताएका हुन्।

प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए। उनले भने, 'यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको। यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु।'

उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए। 'अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ। सामाजिक न्याय भनेको त्यही हो', प्रधानमन्त्रीले भने, 'देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।'

उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गरे। प्रधानमन्त्री दाहालले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताए।

'जुन–जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु। म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पा¥यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु', उनले भने।

प्रधानमन्त्री दाहालले काठमाडौँ नजिकै भए पनि हिजोका  दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गरे।  

प्रकाशित: २६ वैशाख २०८० ११:१८ मंगलबार

पुष्पकमल दाहाल