राजनीति

सरकारले आर्थिक वर्षका लागि पेश गरेको विनियोजन विधेयक सिद्धान्त पर्याप्त छैन: सांसद विष्ट

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त नभएको टिप्पणी गरेका छन्।

सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले ऋणात्मक अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको समस्यालाई समाधान गर्न नसक्ने सांसद विष्टको दावी थियो।

मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले झारफुकको आधारमा गरिने उपचार विधिजस्तै गरेर मुलुकको आर्थिक संकटको समाधान गर्न नसकिनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

सांसद विष्टले मुलुकलाई आर्थिक संकटबाट पार लगाउन उच्चस्तरीय सार्वजनिक खर्च पुनरावलोकन आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिए। यो आयोगले पेश गरेको प्रतिवेदन अनुसार अनावश्यक खर्च कटौति गरियो भने खर्बौ रुपैयाँ खर्च कटौति हुने भएकाले सरकारले सो प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उनको तर्क थियो। राजस्व मिनाहा रोक्नका लागि महालेखा परीक्षकको कार्यालयले दिएको सुझाव पनि कार्यान्वयनमा ल्याउन सरकारलाई सांसद विष्टले सचेत गराए।

उनले भने,  ‘अर्थतन्त्रमा देखा परेको यस प्रकारका संकटहरु, अर्थतन्त्रको संकुचन र ऋणात्मक अवस्थालाई पार लगाउन केवल नियमित प्रक्रिया, केवल टालटुले प्रक्रियामात्रै पर्याप्त हुन सक्दैन। संकट अत्यन्तै गहिरो छ। तर, सरकारका सिद्धान्त र प्राथमिकता केवल झारफुकको आधारमा गरिने उपचार विधिजस्तो मात्रै छन। यसकारण देशको अर्थतन्त्रमा जुन प्रकारका संकटहरु देखा परेका छन। यी संकटहरुलाई समाधान गर्नका लागि के सरकार तयार छ? आज म प्रतिपक्षको एउटा सांसदको नाताले सरकारसँग अनुरोध गर्न चाहन्छु कि सरकार संकटलाई समाधान गर्नका लागि गम्भिर छ, तयार छ? यदि सरकार तयार छ भने म सरकारलाई केही सुझाव दिन चाहन्छु भसामुख महोदय। उच्च स्तरीय सार्वजनिक खर्च पुनरावलोकन आयोगले एउटा प्रतिवेदन पेश गरेको छ। त्यो प्रतिवेदनले सार्वजनिक खर्चमा हुने अनाआवश्यक खर्चलाई कटौति गरियो भने खर्बौ रुपैयाँ खर्च कटौति हुन सक्छ भन्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ। के सरकार यसका लागि तयार छ? वैदेशिक सहायताद्धारा संचालित हुने आयोजनामा केही प्राविधिक प्रक्रियाको कारणले ५० अर्वभन्दा बढि सोधभर्ना लिने काम अहिले पनि बाँकि छ। एकातिर सरकार स्रोत, साधनको अभावमा विकास खर्च बढाउन सकिएन भनिरहेको छ। तर ५० अर्वभन्दा बढि सोधभर्ना लिने अवस्था अहिले पनि विद्यमान छ। तर सरकारले यसमा तदारुकता देखाइरहेको छैन। यसको लागि सरकार तयार छ?’

प्रकाशित: २६ वैशाख २०८० ०८:५० मंगलबार

गोकर्ण विष्ट