राजनीति

'चुनाव दलहरूको लोकप्रियता नाप्ने कडी'

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचनमा दलहरूको लोकप्रियता मापन गर्ने कडी भएको बताएकी छिन्। निर्वाचन दिवस अवसरमा शनिबार निर्वाचन आयोगले राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले त्यसका लागि जुट्न सबैलाई आह्वान गरिन्।

आवधिक निर्वाचन गराउन निर्वाचन आयोग सक्षम र योग्य रहेको जनाउँदै राष्ट्रपतिले परिवर्तन संस्थागत गर्न निर्वाचन जरुरी भएको बताइन्। दलीय सहमतिमा मुलुक तत्कालै निर्वाचनमा प्रवेश गर्ने विश्वास व्यक्त गर्दै उनले भनिन्, 'नेपालको निर्वाचन अभ्यास विश्व मानकअनुरूप बनाउनुपर्छ। आयोगले संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्नुपर्छ, निर्वाचन अझ सहज, सरल र पारदर्शी बनाइनुपर्छ, लोकतान्त्रिक मुलुकका राम्रा अभ्यासबाट पाठ सिकेर निर्वाचन प्रणाली समृद्ध बनाउन सकिन्छ।'

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचनको विकल्प नभएको जनाउँदै सरकारले छिट्टै मिति घोषणा गर्ने बताए। 'संविधानमा व्यवस्था भएबमोजिमका निर्वाचन समयमै गराउन सरकार प्रतिबद्ध छ,' प्रधानमन्त्रीले भने, 'निर्वाचनका लागि आवश्यक आर्थिक र मानवीय सहयोग आयोगलाई उपलब्ध गराउन सरकार तयार छ।'

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले लोकतन्त्र संस्थागत गर्न संविधानले तोकेकै समयमा तीनै तहको निर्वाचन सम्पन्न गराउन आयोग तयार रहेको बताए।

मुलुकमा २०१५ फागुन ७ गते पहिलो संसदीय चुनाव भएको थियो। त्यसको सम्झनामा आयोगले फागुन ७ लाई निर्वाचन दिवस मनाउन सुरु गरेको हो।  पहिलोपटक यस वर्ष यो दिवस मनाइएको हो।

प्रकाशित: ८ फाल्गुन २०७३ ०२:४३ आइतबार

चुनाव दलहरूको लोकप्रियता नाप्ने कडी