राजनीति

बन कार्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

बारा- कागजमै अधिकांश कार्यक्रम सम्पन्न गरी अर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रिय कार्यालय हेटौडाले शुक्रबार जिल्ला वन कार्यालय बारामा छापा मारी गरी विभिन्न कागजातहरु नियन्त्रणमा लिएको छ।

आयोगको क्षेत्रिय कार्यालय हेटौडाबाट खटेको उपसचिव देवकुमार राईको नेतृत्वको टोलीले जिल्ला वन कार्यालयको विभिन्न कागजातहरु नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रिय कार्यालय हेटौडाका प्रवक्ता नरेन्द्र भट्टराईले बिभिन्न कार्यक्रमको नाममा जिल्ला वन कार्यालयका कर्मचारीहरुले पेश्की रकम लिएर काम नगराएको बारेमा छानबिन शुरु गरीएको बताएका छन्।

आर्थिक बर्ष २०२७/२०७३ र चालु आर्थिक वर्ष २०७३/०७४ को विभिन्न शिर्षकका गरी करोडौ रुपैयाँ वनका कर्मचारीहरुले पेश्की निकाली नक्कली विल भरपाईमा सो पेश्की रकम फर्छयौट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिए पछि थप अनुसन्धान गर्नको लागि केही कागज पत्रहरु नियन्त्रणमा लिएको बताए।

प्रमुख जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत विन्देश्वर पटेल, सहायक वन अधिकृत शिवशंकर ठाकुर  लगायतका कर्मचारीले आर्थिक अनियमितता गरेको उजुरीको आधारमा विभिन्न कागजातहरु नियन्त्रणमा लिएको टोलीका एक सदस्यले बताए ।

सहायक वन अधिकृत पटेलले पेश्की रकमबाट काठमाडौमा घर खरीद गरेको, सहायक अधिकृत ठाकुरले टाटा सुमो खरीद गरेको उजुरी परे पछि त्यसको समेत छानबिन गर्न कागजपत्रहरु नियन्त्रणमा लिनु परेको टोलीका ती सदस्यहरुले बताए।

वन कार्यालयका लेखा अधिकृत मदन ढोडारीले अख्तियारको टोलीले विन्देश्वर पटेल, शिवशंकर ठाकुर, र प्रमुख भैरो घिमिरेले गरेका कार्यक्रमहरुको सबै कागजपत्रहरु अख्तियारको टोलीले लिएर गएको जानकारी गराएका छन्।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रम, वनदशक कार्यक्रम र बहु सरारेकारवाला वन कार्यक्रम लगायत अधिकाँश शिर्षकको बजेट रकम वर्षौ देखि वन कार्यालयका कर्मचारीहरु पेश्की लिएर कागज मै ती कार्यक्रमहरु गर्दै आएका छन।

प्रकाशित: ७ फाल्गुन २०७३ ०८:४९ शनिबार

बन कार्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा