राजनीति

राजनीतिक वृत्त तरंगित

नक्कली भुटानी शरणार्थी प्रकरण

फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको राजनीतिक वृत्त गर्माएको छ। यो प्रकरणमा प्रमुख दलका नेताहरू पनि अनुसन्धानमा तानिन थालेपछि राजनीतिक वृत्त गर्माएको हो। यसैकारण दलका शीर्ष नेताहरूको दौडधुप पनि बाक्लिएको छ।

प्रमुख प्रतिपक्षी दल एमालेका सचिव एवं पूर्वउपप्रधानन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक प्रहरी अनुसन्धानमा तानिएका छन्। उनीहरूमध्ये सन्दीप पक्राउ परेका छन्। पूर्वउपप्रधानमन्त्री रायमाझी र प्रतीक थापा भने फरार छन्। 

पूर्वउपप्रधानमन्त्री रायमाझीविरुद्ध प्रहरीले गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए। भेटपछि पत्रकारसँग कुरा गर्दै ओलीले आफूले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको प्रतिक्रिया दिएका थिए। उनले उपप्रधानमन्त्री भइसकेको व्यक्ति (रायमाझी) भागेर कहीं नजाने भएकाले बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए। तर रायमाझी चार दिनदेखि फरार छन्।  

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण, कांग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशलाई पनि अनुसन्धानको दायरामा ल्याउन ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतको दाबी छ ।

पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रक्षात्मक बनेको एमालेले पार्टीका अन्य नेता पनि तानिन सक्ने देखेपछि सत्तारूढ दलतर्फ औंला तेस्र्याउन थालेको छ। प्रहरी अनुसन्धान अघि बढ्दै जाँदा तत्कालीन गृहमन्त्री रहेका पार्टी उपाध्यक्ष थापासहितका अन्य नेता पनि तानिन सक्ने डर एमालेलाई छ। थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई प्रहरी हिरासतमा छन्।  

ओली सरकारका पालामा २०७६ असार २९ गते गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन कार्यदल गठन भएको थियो, जसको संयोजन तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईले गरेका थिए। यस्तै गिरोहकै सदस्यको सिफारिसमा कार्यदलका सदस्यहरू नियुक्त गरिएको कुरा पनि खुलेको छ। यसकारण तत्कालीन गृहमन्त्री थापा पनि तानिन सक्ने खतरा छ। गृह प्रशासनमा निजामती सेवातर्फका एमालेनिकट कर्मचारी पनि तानिन सक्ने सम्भावना छ।  

यसरी आफ्ना नेताहरू अनुसन्धानमा तानिएपछि रक्षात्मक बनेको एमालेले यो प्रकरणमा सत्ताधारी दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा परिवारका सदस्य पनि संलग्न भएको आरोप लगाउन थालेको छ। यसैक्रममा एमाले अध्यक्ष ओलीले शनिबार पनि प्रधानमन्त्री दाहाललाई भेटेर ठगी गिरोहमा संलग्न भएको भन्दै चारजनाको नाम दिएको स्रोतको दाबी छ। कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी एवं प्रतिनिधिसभा सदस्य मन्जु खाण, कांग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशलाई पनि अनुसन्धानको दायरामा ल्याउन ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतको दाबी छ। ओलीले यी चारैजनाको नाम र प्रमाण सरकारी वकिल र प्रहरीमार्फत आफूकहाँ आएको दाबी गरेको स्रोतको भनाइ छ। जसका लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूकहाँ भेट्न पठाइदिन ओलीले गरेको आग्रहमा प्रधानमन्त्री दाहाल सहमत भएको बुझिएको छ।

आरजु र मन्जुलाई नगद बुझाएको अडिओ!

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं सांसद आरजु राणा देउवा र पूर्वगृहमन्त्री खाण पत्नी मन्जुलाई करोडौं रकम बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएको छ। सार्वजनिक अडिओमा आरजुलाई २ करोड र मन्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको सुनिन्छ। अडिओमा रकम दिएको दाबी गर्ने व्यक्ति गिरोहको सदस्य रहेको स्रोतको दाबी छ। यस्तो दाबी गर्ने अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ। सार्वजनिक अडिओ १ मिनेट ३ सेकेन्डको छ। ‘आरजुलाई साढे २ करोड बुझाएको हो,’ अडिओमा सुनिएको छ, ‘६ करोड त्यो बालकृष्ण खाणलाई बुझाएको हो, मन्जुदेवीले बुझ्नुभएको हो घरमा। हनुमानथानमा घर छ, त्यहीं बुझ्नुभएको हो।’अडिओमा आफूलाई दुहुनो गाई बनाएको भनेर गुनासो गरिएको पनि सुनिन्छ।  प्रहरी अनुसन्धानले पनि उक्त अडिओको आधिकारिकता र रकम बुझे-नबुझेकोबारे अनुसन्धान गरिरहेको स्रोत बताउँछ। प्रहरीकहाँ ३० मिनेटको अडिओ पुर्याइएको स्रोतको दाबी छ।

सबैको भूमिका हेर्दै प्रहरी

प्रमुख दलका नेताहरू एकअर्काको पोल खोलाखोल गरिरहँदा ठगी धन्दा गिरोहबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। अनुसन्धानको दायरामा आउने सबैको भूमिकाबारे एकएक छानबिन गरिरहेको परिसरले जनाएको छ। ‘हामीले पक्राउ परेकाको मात्र होइन, बाहिर रहेकाहरूलाई पनि निगरानीमा राखिरहेका छौं, शंकास्पद भूमिका देखाउनेहरूमाथि सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘सबै पक्षको अनुसन्धान भइरहेको छ।’ आरोप–प्रत्यारोपका क्रममा डामिएका नेताहरू पनि आ–आफ्नै बचाउमा सक्रिय छन्। कांग्रेस नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण गृहमन्त्री हुँदा गृहसचिवको जिम्मेवारीमा रहेका गृहसचिव टेकनारायण पाण्डे प्रहरी हिरासतमा छन्। खाणकै विषयमा पनि विभिन्न शंकास्पद कुराहरू आइरहेका छन्। उनले शनिबार एक विज्ञप्ति निकालेर त्यसबारे खण्डन गरिसकेका छन्। कांग्रेस सांसद रामहरि खतिवडाले पनि यो प्रकरणमा आफ्नो नाम जोडिएको समाचार आएपछि प्रतिनिधिसभाको बैठकमा त्यसको खण्डन गरे। उनले आफूमाथि लागेको आरोप पुष्टि भए सजाय भोगेर राजनीतिक जीवनबाट बाहिरिन तयार रहेको बताए। ‘कहींबाट पुष्टि भए वा म संलग्न रहेको प्रमाणित भए सजाय भोगेर राजनीतिक जीवनबाट बाहिर जान तयार छु,’उनले भने, ‘लहरो तान्दा पहरो थर्कन्छ भनेजस्तै प्रधानमन्त्रीकोमा म्याउँम्याउँ गर्दै जाने र दोषीलाई जोगाउने कामको अन्त्य होस्।’ देउवा पत्नी आरजुले आफ्नो सम्पत्ति विवरण सरकारसँग सुरक्षित रहेको दाबी गर्दै सबै सांसदको सम्पत्ति छानबिन गर्न माग गरिन्। आफूले केही नबिराएको दाबी गर्दै उनले जसले जति आलोचना गरे पनि नडाराउने बताइन्।

प्रकाशित: २५ वैशाख २०८० ००:५४ सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरण राजनीतिक वृत्त तरंगित