राजनीति

वर्तमान सरकारले अर्थतन्त्र चलायमान बनाउन सक्दैन: अध्यक्ष ओली

फाइल तस्बिर।

नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताएका छन्।

बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको शिखर सम्मेलन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रश्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको आरोप लगाए।

उनले चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरेपनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ जनतालाई दिनुपर्ने उल्लेख गरे।

उनले गठबन्धन सरकारले चालु आर्थिक वर्षमा २ प्रतिशतमा झर्नुको जवाफ जनतालाई नदिएर गठबन्धन सरकार जनताप्रति जवाफदेही नबनेको आरोप लगाए।

अध्यक्ष ओलीले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नगर्ने गठबन्धन सरकारको नेतृत्वमा रहीरहनु उचित नरहेको जिकिर गरे। उनले आफैँले लिएको लक्ष्य पूरा गर्न नसक्ने सरकारको आयव्ययको अनुमान विश्वासयोग्य नरहेको बताए।

अध्यक्ष ओलीले वर्तमान सरकारले अर्थतन्त्र चलायमान बनाउन र चुनौतिको सामना गर्न नसक्ने पनि दाबी गरे। 

प्रकाशित: २४ वैशाख २०८० १४:१५ आइतबार

केपी शर्मा ओली