राजनीति

हामी ‘फिल्म’ हेर्न आतुर छौंः नेकपा एमाले

संघिय संसदको बर्खे अधिवेशनको पहिलो बैठकमा ‘नक्कली शरणार्थी’ काण्डलाई सांसदहरुले चर्को रुपमा उठाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शरणार्थी काण्डमा मुछिएका केहीलाई पक्राउ गरिएको घटनाक्रमलाई ‘यो त टेलर मात्र हो, फिल्म सुरु हुन त बाँकी नै छ’ भनेर चेतावनी दिएका थिए।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आइतबार यसको राम्रै जवाफ दिएको छ।

एमालेका प्रमुख सचेतक पदम गिरी, सचेतक महेशकुमार बर्तौलालगायत एमालेका अन्य सांसदहरुले आफुहरु प्रधानमन्त्रीले सुरु गर्न लागेको फिल्म हेर्न आतुर रहेको चूनौती दिए।

एमालेका प्रमुख सचेतक गिरीले भने, ‘हामी फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं।’ उनले वाइडबडी घोटाला, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा काण्ड, बालमन्दिर जग्गा काण्ड, यति र ओम्नी काण्ड, लडाकुहरुको भत्ता काण्ड, अर्थ मन्त्रालयको सिसि क्यामेरा काण्ड तत्काल छानिवन गरी भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्ने माग गरेका छन्।

‘जुनसुकै क्षेत्रमा भएका भ्रष्टाचार, कानून हात लिने कामहरु कानूनको दायरामा ल्याउनुपर्छ। मुलुकमा सुशासन कायम गर्नुपर्छ। यसका लागि नेकपा एमाले दृढताका साथ उभिएको छ। हाम्रो साथ र सहयोग रहन्छ’, उनले भने।

गिरीले कतै प्रधानमन्त्री पूर्वाग्रही भएर सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने त होइनन भनी आशंका पनि व्यक्त गरेका थिए। उनले भनेका थिए, ‘उहाँ पूर्वाग्रह राखेर सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र अन्यलाई पूर्वाग्रह साँध्ने मनसाय त छैन भन्ने देखिन थालेको छ।’

अर्का सांसद सूर्य थापाले भने, ‘मलाई प्युठानी जनताले टिकट काटेर पठाउनुभएको छ, क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू, त्यो फिल्म हेर्ने व्यवस्था अविलम्ब गर्नुस।’

प्रकाशित: २४ वैशाख २०८० ११:५६ आइतबार

संसदको बर्खे अधिवेशन