राजनीति

नेपाली उडान युरोपमा खुला गर्न पहल गर्छु : परराष्ट्रमन्त्री

काठमाडौं- परराष्ट्रमन्त्री प्रकाशशरण महतले 'युरोपेली आकाशमा नेपाली हवाई उडानमा लगाइएको प्रतिबन्ध' हटाउन युरोपेली युनियन (इयु) र सो सम्बद्ध सदस्य राष्ट्रका सरकारसँग छलफल गर्ने भएका छन्। इयु, बेल्जियम र लक्जेमबर्ग भ्रमणमा निस्कनुअघि उनले आफ्नो भ्रमणपछि नेपाली हवाई उडानमा युरोपमा लागेको प्रतिबन्ध हट्ने आशा व्यक्त गरे।

'हामीले युरोपकै एयरबस चलाइरहेका छौं। हवाई सुरक्षामा पनि हामीले एकदम प्रगति गरेका छौं,' आइतबार अपराह्न परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महतले भने, 'अब इयुले नेपाली हवाई सुरक्षामा राखेको चासो सान्दर्भिक छैन। म यो कुरालाई गम्भीर रुपमा उठाउँछु।'

युरोप भ्रमण सिलसिलामा परराष्ट्रमन्त्री महत साँझ त्यसतर्फ प्रस्थान गरे। उनले युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड जन्कर, इयुको परराष्ट्र तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेड्रिका मोघिरिनी, लक्जेमबर्गका प्रधानमन्त्री जाभियर बेटेल, परराष्ट्रमन्त्री जेन एसेलवोर्न, विकास सहयोगमन्त्री रोमेन सेचनिडर, बेल्जियमका उपप्रधान तथा परराष्ट्रमन्त्री डिडियर रेनडर्ससँग भेटवार्ता गर्ने कार्यक्रम छ।

'इयुले एसिया प्रशान्त क्षेत्रका लागि तोकेको हवाई सुरक्षा मापदण्ड पूरा गर्न नेपालले अब थोरै अंश मात्र बाँकी छ। त्यसैले अब यो प्रतिबन्ध हट्नुपर्छ,' महतले पत्रकार सम्मेलनमा स्पष्ट पारे।

इयुले नेपाली हवाई उड्डयन सुरक्षा कमजोर रहेको औंल्याउँदै २०७० मंसिर २० गतेदेखि नेपाली हवाई उडानलाई युरोपेली आकाशमा उड्न प्रतिबन्ध लगाएको छ। नेपाली जहाज धेरै दुर्घटनामा परेको उल्लेख गदर्ैै इयुले आफ्ना नागरिकलाई नेपालमा दर्ता कुनै पनि जहाज तथा हेलिकोप्टर नचढ्नसमेत आग्रह गरेको थियो।

त्यतिबेला युरोपको आकाशमा नेपाली हवाई उडानलाई प्रतिबन्ध लगाउनुको कारण सुरक्षा व्यवस्थालाई देखाइए पनि भित्री पाटो अर्कै थियो। नेपालले चीनसँग जहाज खरिद गर्न लागेपछि असन्तुष्ट इयुले नेपाली उडानलाई असुरक्षित ट्याग लगाई प्रतिबन्ध लगाएको हो। 'अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले एसिया प्रशान्त क्षेत्रका लागि तोकेको हवाई उड्डयन सुरक्षा मापदण्ड ५९ (प्रतिशत) रहेको छ। अहिले नेपालले हवाई सुरक्षा मापदण्डमा सुधार ल्याई ५८.४ प्रतिशत पुर्‍याएको छ,' परराष्ट्रमन्त्री महतले भने। इयुले उडानमाथि प्रतिबन्ध लगाउँदा नेपाली हवाई सुरक्षा मापदण्ड ४३ प्रतिशत थियो। उडान अनुमतिपत्र, दुर्घटना, जाँच प्रतिवेदन, वायु सेवा कम्पनीको सुरक्षा मापदण्ड लगायतका ८ गम्भिर सूचकको आधारमा आईकाओले हवाई उड्डय सुरक्षा मापदण्ड तय गर्छ। यसैलाई आधार बनाई ईयुले नेपाली वायुसेवा कम्पनीहरुलाई कालोसूचीमा राख्दै आएको छ। 

 इयुले गत वर्ष भारतसँग संयुक्त विज्ञप्ति निकाल्दा नेपालको संविधानमा समावेशिताप्रति चासो राखेकाले भ्रमणमा त्यस्बारे पनि स्पष्ट पार्ने उनले जनाए। 'हाम्रो संविधान कति समावेशी छ भन्नेबारे जानकारी गराउँछु। साथै, असन्तुष्ट पक्षलाई सन्तुष्ट बनाउन सरकारले गरिरहेका प्रयास र लोकतन्त्र संस्थागत गर्न तथा मानवअधिकार रक्षा गर्न सरकारले चालेका प्रयास पनि उनीहरूलाई बताउनेछु,' महतले भने।

महतले इयुका नेतासँग नेपालले राजनीतिक तथा सामाजिक क्षेत्रमा हासिल गरेका उपलब्धि रक्षा गर्न, आर्थिक तथा पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्न, पुनर्निर्माणका लागि थप सहयोग जुटाउन, युरोपेली मुलुकमा नेपाली निर्यातलाई प्रोत्साहन गर्न, पर्यटन विकासलयायत विषयमा छलफल गर्ने जनाइएको छ।

विभिन्न प्रकारका सम्पर्क (कनेक्टिभिटी) सञ्जालका विषयमा पनि भेटघाटमा छलफल गरिने उनले बताए। परराष्ट्रमन्त्री महत ६ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: २ फाल्गुन २०७३ ०२:४७ सोमबार

नेपाली उडान युरोपमा खुला गर्न पहल गर्छु परराष्ट्रमन्त्री