राजनीति

प्रधानमन्त्री दाहालको सन्देश बोकेर श्रेष्ठ दिल्लीमा

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली गएका श्रेष्ठ त्यहाँ पुगेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त छन्। 

'प्रधानमन्त्री दाहालको सन्देश बोकेर' शनिबार नयाँदिल्ली पुगेका नारायणकाजी श्रेष्ठ भारतीय नेतासँग भेटघाटमा

मुलुकभित्र संविधान संशोधन र निर्वाचनमा 'सहमति जुटाउन' क्रियाशील श्रेष्ठले अचानक नयाँदिल्ली पुगेर थालेको   राजनीतिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 'श्रेष्ठले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहमत गरााउनेबारे नयाँदिल्लीमा भारतीय नेतासँग छलफल गर्दैछन्,' स्रोतले भन्यो ।

माओवादी केन्द्र विदेश विभाग सदस्य युवराज चौलागाईंका अनुसार पार्टी प्रवास संगठनको सम्मेलन उद्घाटन गर्न गए पनि नेता श्रेष्ठले भारतीय राजनीतिक दलका नेतासँग पनि भेटघाट  गर्नेछन्। 'पार्टीका प्रवास संगठनको सम्मेलन उद्घाटन गर्न जानुभएको हो,' चौलागाईंले नागरिकसँग भने, 'र, सोही क्रममा भारतीय राजनीतिक दलका नेतासँग स्वाभाविक रुपमा त्यहाँ भेटघाटका कार्यक्रम हुनेछन्।' उनका अनुसार सोमबार श्रेष्ठ स्वदेश फर्कने कार्यक्रम भए पनि लम्बिन सक्ने सम्भावना बढ्दै गएको छ। 

भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख राम माधव, कांग्रेस आईका वरिष्ठ नेता करण सिंह, मनिशंकर अयर, भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम येचुरीलगायतसँग हुने भेटघाट खुलेको भए पनि अन्य 'शिर्ष राजनीतिक भेटघाट' बारेमा भने माओवादीले केही खुलाएको छैन।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले श्रेष्ठको आगमनबारे जानकारी भए पनि राजनीतिक भेटघाट सम्बन्धमा भने थाहा नभएको टेलिफोन सम्पर्कमा बताए। 'पार्टी कार्यक्रमका लागि आएको जानकारी गराउनुभएको थियो,' उपाध्यायले नागरिकसँग भने, 'त्यसबाहेक थप केही जानकारी प्राप्त छैन।' परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका श्रेष्ठ माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुख पनि हुन्।

स्रोतका अनुसार भारतीय जनता पार्टीका वरिष्ठ नेता, नरेन्द्र मोदी सरकारका प्रतिनिधिदेखि कांग्रेस आईका वरिष्ठ नेता राहुल गान्धीसँग पनि भेटघाट गर्ने कोसिस श्रेष्ठले नयाँदिल्लीमा गरिरहेका छन्। जसका कारण सोमबारै स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम भए पनि केही दिन लम्बिने संकेत देखिएको स्रोतले बतायोे। 

प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटघाट गराएर शनिबार नयाँदिल्ली पुगेका श्रेष्ठले देशभित्र पनि 'राजनीतिक सहमति जुटाउन' भूमिका खेलिरहेका छन्। दाहालले ओलीसँगको भेटअघि कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापासहित मधेसी मोर्चाका वरिष्ठ नेतासँग पनि छलफल गरेका थिए। श्रेष्ठको सक्रियतामा प्रमुख दल 'संसद् खुल्नुअघि निर्वाचन मिति घोषणा र त्यसपछि संविधान संशोधन' को अजेन्डामा सहमत भएका छन्।

संविधानमा दोस्रो संशोधन र स्थानीय निर्वाचनसम्बन्धी अजेन्डामा प्रधानमन्त्री दाहालले भारतीय सत्तापक्षको बलियो समर्थन खोजिरहेका छन्। यिनै मुद्दा बोकेर दाहाल प्रधानमन्त्री भए पनि  ६ महिना बित्दासम्म निकास आएको छैन। जसका कारण राजनीतिक गतिरोध अन्त्य हुन सकेको छैन्। संविधान संशोधन र अन्य विषयमा समर्थन जुटाउन प्रधानमन्त्री दाहालको दूत बनाएर श्रेष्ठलाई नयाँ दिल्ली पठाइएको हो। श्रेष्ठमार्फत प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनसम्बन्धी भारतीय नेताहरूको धारणा बुझ्न चाहेको स्रोतले बतायोे।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने प्रधानमन्त्रीको दूतको रुपमा नभई पार्टी कार्यक्रममा सहभागी हुन श्रेष्ठ नयाँदिल्ली गएको बताए। 'प्रधानमन्त्रीको दूतका रुपमा उहाँ दिल्ली जानुभएको होइन, पहिल्यै तय भएको कार्यक्रमका लागि जानुभएको हो', आचार्यले नागरिकसँग भने। उनको राजनीतिक भ्रमणको विस्तृत विवरण खुलाइएको छैन। यसबारे जानकारी लिन नेता श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा सम्भव भएन।

नयाँदिल्लीमा आयोजित 'संघीयताको कार्यान्वयन र चुनौती' विषयक अन्तर्क्रियामा सम्बोधन गर्दै श्रेष्ठले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहमतिमा नआए पनि स्थानीय निर्वाचन मिति घोषणा गरिने जनाएका छन्। निर्वाचन मिति घोषणा गरेर सहमति गर्दै अघि बढने जानकारी श्रेष्ठले उक्त कार्यक्रममार्फत गराएका हुन्।

प्रकाशित: २ फाल्गुन २०७३ ०२:२९ सोमबार

प्रधानमन्त्री दाहालको सन्देश बोकेर श्रेष्ठ दिल्लीमा