राजनीति

निर्वाचनको मिति चाँडाे घोषणा नगरे सरकारको औचित्य सकिन्छः नेता रावल

काठमाडौँ– नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले निर्वाचनको मिति चाँडो घोषणा नगरेमा सरकारको औचित्य समाप्त हुने बताएका छन्।

संविधान कार्यान्वयन गरी मुलुकमा प्राप्त भएका उपलब्धि जोगाउन निर्वाचनको खाँचो रहेको उनले बताए। उपाध्यक्ष रावलले भने, “देशमा उत्पन्न समस्या समाधानका लागि सरकार संवेदनशील छैन, संविधान संशोधन देश र जनताको हितमा हुनेगरी गर्न सकिन्छ तर सरकारले दर्ता गराएको संशोधनको प्रस्ताव देश र जनताको हितमा छैन।”

देशमा विद्यमान समस्या तथा राजनीतिक अन्योलता अन्त्य गर्नका लागि सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि आफ्नो दलले विभिन्न दलसँग सहकार्य र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।

उपाध्यक्ष रावलले मुलुकमा स्थायित्व कायम गर्नका लागि आफ्नो दलले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउँदै संविधान संशोधन हुन नसकेको अवस्थामा निर्वाचन गरी मुलुकलाई निकास दिनका लागि मधेसी मोर्चासँग पनि छलफल भइरहेको बताए। रासस

प्रकाशित: २८ माघ २०७३ १३:३२ शुक्रबार

निर्वाचनको चाँडाे घोषणा नगरे सरकारको औचित्य सकिन्छः नेता रावल