राजनीति

'नेपालको पहिचान हिन्दूत्व नै हो'

काठमाडाैं– वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीले ‘मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले उत्पन्न भएको आन्तरिक द्वन्द्वले अहिले राष्ट्रिय राजनीतिमा जटिलता आएको’ बताएका छन्।

एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान केन्द्रीय समितिले बिहीबार काठमाडाैंमा आयोजना गरेको भेलामा उनले विभिन्न शक्तिले नेपाली समाजमा द्वन्द्व गराएर देशलाई विखण्डनको दिशातर्फ उन्मुख गराएको बताउँदै नेपालीबीच एकताको खाँचो रहेको औँल्याए।

नेता अधिकारीले भने– “नेपालको पहिचान हिन्दूत्व होे, बहुमतलाई स्वीकार्ने दलले बहुसङ्ख्यक जनताको मागका रुपमा रहेको हिन्दू राष्ट्र कायम गर्नुपर्छ ।”

अभियानका संयोजक केशरबहादुर विष्टले सदियौँदेखि मिलेर बसेका नेपाली समाजलाई जात, भाषा र भूगोलका आधारमा खण्डित गर्न नहुने र नेपालमा सङ्घीयता लागू गर्न नहुने विचार व्यक्त गरे।

अधिवक्ता विष्णु भट्टराईले मुलुकमा जनप्रतिनिधि देश र जनताप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए।

सो अभियानअन्तर्गत नेपाललाई हिन्दू राष्ट्र कायम गर्न देशभर जनजागरणका कार्यक्रम सञ्चालन गरिने बताइएको छ । रासस

प्रकाशित: २७ माघ २०७३ १४:२८ बिहीबार

नेपालको पहिचान हिन्दूत्व नै हो