राजनीति

‘प्रतिकूल परिस्थिति र चुनौतीबाट कांग्रेस भाग्दैन’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रतिकूल परिस्थिति र चुनौतीबाट नेपाली कांग्रेस नभाग्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस बाँकेको ७औं जिल्ला अधिवेशनमा बोल्दै उनले अहिले मुलुकको आर्थिक अवस्था प्रतिकूल भए पनि कांग्रेसले त्यसको सामना गरेर अगाडि बढ्ने बताए।  

‘प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउन कांग्रेस स्थापना भएको हो, अहिले राजनीतिक प्रतिकूल परिस्थती होइन, आर्थिक प्रतिकूल परिस्थिति छ,’ उनले भने, ‘कांग्रेस आर्थिक चुनौतीबाट भाग्दैन, राम्रोसँग सामना गर्छ, नत्र हामीले किन राजनीति गर्ने? वर्तमानको चुनौतीलाई कांग्रेसले सामना गर्नुपर्छ।’आफूहरू बिपी कोइरालाको अनुयायी भएको बताउँदै उपसभापति गुरुङले भने, ‘२००३ सालमा यो मुलुकभित्र पार्टी गठन गर्ने अवस्था थिएन, त्यस्तो प्रतिकूल परिस्थितिमा पनि बिपी कोइरालाले २००३ सालमा पार्टी स्थापना गर्नु भएको हो, प्रतिकूल अवस्था छ भनेर डराएको भए कांग्रेस पार्टी स्थापना हुने थिएन।’

पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर कांग्रेसकै जिल्लादेखि केन्द्रका नेताले कांग्र्रेस सच्चिने कि सक्किने? भन्ने गरेको प्रसंगमा उनले आफैंलाई सच्याउन कांग्रेसका नेता, कार्यकर्तालाई आग्रह गरे। नेतालाई गाली गरेर मात्र ठूलो नेता नहुने उनको भनाइ थियो। पछिल्लोसमयमा केही व्यक्तिले पार्टी छाडेर गएकोतर्फ संकेत गर्दै उपसभापति गुरुङले एक–दुईजनाले छाड्दैमा केही फरक नपर्ने बताए।

‘ठूला नेताको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले केन्द्रीय समिति बैठकमा कुरा राखेको हुँ, त्यो मेरो प्रस्ताव मान्दिएको भए अहिले देशभर कांग्रेसको राम्रो प्रभाव हुन्थ्यो, म आज पनि भन्दैछु, त्यो अडानमा छु,’ उनले भने, ‘ठूला नेताहरूको सम्पत्ति छानबिन गर्नैपर्छ, कोही नेता डराउँछ भने धनराज गुरुङको सम्पत्ति छानबिन गरेर यो कामको सुरुवात गरौं।’ 

प्रकाशित: १९ वैशाख २०८० ०१:५२ मंगलबार

‘प्रतिकूल परिस्थिति र चुनौतीबाट कांग्रेस भाग्दैन’ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ