प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उनको भनाइ थियो। अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरवारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताए।
उनले भने, ‘सिंहदरबारको फोहोर उठेन भन्यो। एउटाले फोहोर उठाउदिन भन्यो। उसले उठाउने नै होइन। सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नै होइन। सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने ठेक्का अर्कैलाई लगाएको छ। अनि महानगरले उठाउन्न भन्यो। त्यसले उठाउने नै होइन सरकार भन्न सक्दैन। सरकारले लगाएको ठेकदारले उठाउन थपक्क छोड्यो। किन उठाउन छोड्यो ? ठेकदारले के सिंहदरबारमा फोहोर थुपारेर रोग फैल्याउन पाईन्छ? कुनै प्रकारको षडयन्त्र गर्न पाईन्छ रु यहाँ फोहोरमाथि राजनीति गर्ने प्रपञ्च भइराख्या छ। जनतालाई पीरमर्का पार्ने काम भईराखेको छ। सरकार निरिह छ। केही गर्दैन। सहरी विकास मन्त्रालयलेनै ठेक्का लगाएर त्यहाँको फोहोर उठाउने काम भइरहेका छन। त्यहाँ ठेक्का लिने ठेकदारले अन्यत्र पनि फोहोर उठाउने काम गरिराखेको छ। जनतालाई थाहा छैन।’
प्रकाशित: १८ वैशाख २०८० ११:५७ सोमबार