राजनीति

मोर्चालाई कांग्रेसको आश्वासन: संविधान संशोधनपछि चुनाव

काठमाडौं-नेपाली कांग्रेसले मधेसी मोर्चालाई संसद्मा प्रस्तुत संविधान संशोधन विधेयक पास गरेर मात्र चुनावमा जाने  आश्वासन दिएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि मोर्चाका नेतालाई यस्तै आश्वासन दिएका थिए।

मोर्चाका नेतासँग आइतबार भएको छलफलमा कांग्रेस शीर्ष नेताहरूले संशोधन विधेयक पास गराउन पार्टीले  पहल गर्ने पनि बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकन्ठस्थित निवासमा मोर्चाका नेताहरूलाई बोलाएर संशोधन विधेयकबारे छलफल गरेका थिए ।

छलफलमा मोर्चाका नेताहरूले संसद्मा पुगेको संशोधन विधेयक पास गराउन नेपाली  कांग्रेसले किन ढिलो गरेको भनी प्रश्न गरेका थिए । जबाफमा देउवाले संशोधन विधेयक पास गर्न  दुईतिहाइ जुटाउन कांग्रेसले पहल गर्ने आश्वासन दिँदै  मोर्चाले पनि सघाउनुपर्ने  बताए ।  ‘संशोधन विधेयक पास गराउन दुईतिहाइ जुटाउन हामीले पहल गर्दैछौं । तपाईंहरू पनि यसमा लाग्नुहोस्’, देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो ।

देउवाले विधेयक पास गर्न आफूहरुले प्रयास गर्ने बताएपछि तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव उत्साहित भएका थिए । उनले भनेका थिए, ‘तपाईं (देउवा) ले प्रयास गर्नुभयो भने विधेयक पास हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

छलफलमा मोर्चाका नेताले संशोधन विधेयक पास नभईकन चुनाव हुन नसक्ने बताएका थिए । देउवाले संशोधन विधेयक पास गरेर मात्र चुनावमा जाने पक्षमा कांग्रेस रहेको भन्दै मोर्चालाई आश्वस्त पारेका थिए। उनले चुनाव तयारी र संशोधन विधेयक सँगसँगै अघि बढाउने पनि जनाए ।

बैठकपछि सञ्चारकर्मी कांग्रेस नेता कृष्ण सिटौलाले संशोधन विधेयक पास गरेर चुनावमा जाने सहमति भएको जानकारी दिए । ‘बैठकमा संशोधन विधेयक पास गरी निर्वाचन तयारी थाल्ने सहमति भएको छ’, उनले भने । 

राष्ट्रिय मधेस समाजवादी पाटीका महासचिव केशव झाले पनि संशोधन विधेयक पास भएपछि मात्र चुनावमा जाने प्रतिबद्धता कांग्रेसले जनाएको बताए । ‘कांग्रेस सभापतिज्यूले संशोधन विधेयक पास भएपछि मात्र चुनाव गर्ने प्रतिबद्धता जनाउनुभएको छ’, उनले नागरिकसग भने, ‘विधेयक पास गराउन सरकार र मोर्चा दुवै पक्षले प्रयास गर्न सहमति भएको छ ।’

स्रोतका अनुसार संशोधन विधेयक पास गराउन देउवाले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपा अध्यक्ष कमल थापालाई पनि सरकारमा ल्याउन कुराकानी भइरहेको जानकारी गराएका थिए । ‘दुईतिहाइ जुटाउन हामीले प्रयास गरिरहेका छौं । यसका लागि विभिन्न दलसँग कुराकानी भइरहेको छ’, देउवालाई उद्धृत गर्दै   स्रोतले भन्यो ।

बैठकमा  निर्वाचनको मिति तोक्नेबारे भने  छलफल नभएको सद्भावना पार्टीका महासचिव मनीष सुमनले  बताए ।  ‘संशोधन विधेयक अघि बढाउनेबारे छलफल भयो । चुनाव मिति घोषणा गर्ने विषयमा छलफल भएन’, सुमनले भने।

छलफलमा मोर्चाका नेताहरूले सरकारसँग भएको तीनबुँदे सहमतिअनुसार मधेस आन्दोलनका पीडित र घाइतेलाई क्षतिपूर्ति दिने काम,  राजनीतिक मुद्दा फिर्ता लिने काम अझै पूरा नभएको भन्दै गुनासो गरेका थिए । देउवाले सबै काम पूरा हुने आश्वासन दिएका थिए ।

मोर्चाका नेताले राजदूतमा मधेसी मुलका मानिसलाई पनि  समेट्न सुझाव दिएका थिए । यसैगरी मेर्चाका नेताले उच्च अदालतमा न्यायाधीश नियुक्ति विभेदकारी भएको भन्दै खारेज गर्नुपर्ने बताएका थिए ।

बैठकमा कांग्रेस सभापति देउवासहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, रमेश लेखको उपस्थित थिए । यसैगरी मोर्चाबाट महन्थ ठाकुर, यादव, लक्ष्मणलाल कर्ण, सुमन, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायत बैठकमा सहभागी थिए।

प्रकाशित: २४ माघ २०७३ ०१:५६ सोमबार

मोर्चालाई कांग्रेसको आश्वासन संविधान संशोधनपछि चुनाव