राजनीति

सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौँः महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन्।

शुक्रवारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन शुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन्।  

उनले सांसदहरुले खादा,माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो? भन्ने प्रश्न गर्दै सांसदहरुले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए। उनले अरु हेर्ने विभाग भएपनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।

उनले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे। उनले नेताहरुले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताए।  

उनले भने, ‘अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग खोई ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ । यो अनुरोध सबै पार्टीलाई हो । अरु पार्टी पनि आएर मेरो भाषण सुनुन् । की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन्। सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन,कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन । सांसदलाई काम गरेनन् भने ढ्याँग्रो ठोक्दै लखेट्नुपर्छ ।’

पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरु पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको बताए। उनले आफूले यो आन्दोलन मनलाग्दी रुपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने प्रतिवद्धता जनाएको बताए। उनले संसारमा नवप्रवद्र्धन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने बताए।

प्रकाशित: १६ वैशाख २०८० ०६:१९ शनिबार

महावीर पुन