राजनीति

कार्यकर्तालाई चुनावमा जुट्न देउवाको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरूले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन जरुरी रहेकेा बताउँदै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टीको भ्रातृ संगठन नेपाल सांस्कृतिक संघको दोस्रो महाधिवेशन शुक्रबार राजधानीमा उद्घाटन गर्दै नेताहरूले केही दिनभित्रै स्थानीय निर्वाचन मिति घोषणा हुने दाबी गरे।

पार्टी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रलाई स्थायी बनाउन अर्को माघभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताए। 'संविधान कार्यान्वयन गरेर लोकतान्त्रिक गणतन्त्र मजबुत बनाउन कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ,' देउवाले भने, 'संविधान कार्यान्वयनका लागि पार्टीले सम्पूर्ण ध्यान केन्द्रित गर्नेछ, गरेको छ।'

संविधानलाई सर्वस्वीकार्य बनाउन संश्ाोधन प्रस्ताव संसद्मा पेस गरेको धारणा राख्दै देउवाले भने, 'एमालेका कारण संशोधन प्रस्ताव पारित गराउन अप्ठेरो परेको छ।'

पार्टी नेता रामचन्द्र पौडेलले स्थानी निर्वाचन मिति धकेलिँदै जाँदा जनतामा निर्वाचनप्रति नै आशंका उत्पन्न भएको बताए। 'चैतमा गर्ने भनेको चुनाव वैशाख हुँदै जेठमा धकेलिन लाग्दा चिन्ता उत्पन्न भएको छ,' पौडेलले भने, 'अब विलम्ब नगरी निर्वाचनमा जानुपर्छ।'

निर्वाचनको विकल्प नभएको जनाउँदै पौडेलले प्राप्त उपलब्धि रक्षाका लागि सबैले आआफ्नो अडान छाडेर निर्वाचनमा जानुपर्ने बताए। 'अबको एक वर्षमा तीनै (स्थानीय, प्रदेश र केन्द्र) को निर्वाचन गराउनुपर्छ,' उनले भने, 'सकेसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्छ। त्यसमा सहमति जुटेन भने पुरानै संरचनाअनुसार भए पनि निर्वाचन गराउनुपर्छ।'

नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिने संघको महाधिवेशनमा अन्य नेताहरूले मुलुकमा रहेका लोकसंस्कृतिहरूको जर्गेना गर्न पार्टीले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।

त्यसअघि पार्टीकै भ्रातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसको शुक्रबार नै दुईदिने भेलाको उद्घाटन गर्दै सभापति देउवाले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नरहेको दोहोर्‍याए। एक वर्षभित्र तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने चुनौती रहेको जनाउँदै देउवाले भने, 'संविधान कार्यान्वयनका लागि कांग्रेस जुनसुकै मूल्य चुकाउन तयार छ।'

चुनाव जित्नेलाई मात्र पार्टीले टिकट दिने बताउँदै देउवाले संगठन विस्तारमा जुट्न सबैलाई निर्देशन दिए। 'स्थानीय निकाय निर्वाचनमा जित्ने व्यक्तिलाई मात्र टिकट दिइन्छ,' उनले भने, 'संविधान रक्षाका लागि पनि पार्टीले चुनाव जित्नु जरुरी छ।'

सो कार्यक्रममा नेता पौडेलले संविधान सबै राजनीतिक दलको सम्झौताबाट आएको हुँदा मजदुरले उठान गरेका सबै माग समेट्न नसकिएको स्पष्ट पार्दै श्रम ऐन संशोधनबाट श्रमिकका माग पूरा गर्न सकिने बताए। 'उद्योग स्थापना नभई मजदुरले काम पाउँदैनन्, मजदुर नभई उद्योग पनि चल्न सक्दैनन्,' उनले भने, 'त्यसका लागि संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायित्व जरुरी छ।'

महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयन गर्न एक वर्षभित्र तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी कांग्रेसले मात्र पूरा गर्ने बताए। ट्रेड युनियन कांग्रेसको दुई दिने राष्ट्रिय परिषद् शनिबार  सकिने छ।   

प्रकाशित: २२ माघ २०७३ ०३:०३ शनिबार

कार्यकर्तालाई चुनावमा जुट्न देउवाको निर्देशन