राजनीति

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेशसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।

मुख्यमन्त्री बनेको १०४ दिनमा उनले तेस्रो पटक विश्वासको मत लिएका हुन्। ४० सदस्यीय प्रदेशसभामा शर्माले २९ मत प्राप्त गरे। मतदानमा ३९ जना सांसद सहभागी थिए। नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि शर्माले तेस्रो पटक विश्वासको मत लिएका हुन्।

उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त भयो। कांग्रेसका १४, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी र स्वतन्त्र सांसद १–१ जनालाई उनलाई विश्वासको मत दिए।

नेकपा एमालेका ९ र राप्रपा एक जना सांसदले उनलाई विश्वासको मत दिएनन्। शर्माले यसअघि पहिलोपटक ६ माघमा विश्वासको मत लिएका थिए। उतिबेला एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए भने कांग्रेसले विपक्षमा भोट हालेको थियो।

राप्रपाले समर्थन फिर्ता लिएपछि चैत १७ गते शर्माले दोस्रो पटक विश्वासको मत लिएका थिए। उति बेला राप्रपाका एक सांसदबाहेक सबैले उनलाई विश्वासको मत दिएका थिए। चैत २७ गते एमालेले समर्थन फिर्ता लिएपछि शर्माले फेरि विश्वासको मत लिएका हुन्।  

प्रकाशित: १५ वैशाख २०८० १२:२६ शुक्रबार

मुख्यमन्त्री राजकुमार शर्मा