राजनीति

सहमति गर्न भन्दै प्रधानमन्त्रीले मोर्चाका नेतालाई बालुवाटार डाके

फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। यसअघि सहमति हुन नसकेको निर्वाचन मिति घोषणा, संविधान संशोधनलगायतका विषयमा छलफल गर्न मोर्चाका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

सहमति गर्न भन्दै प्रधानमन्त्रीले आज ४ बजेका लागि निम्तो दिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताएका छन्। उनले यसअघिको बैठकमा प्रधानमन्त्रीले आफूहरुसँग केही प्रश्न गरेको तर जवाफै नसुनी निर्णय गर्नु ठीक नभएको बताए।

'यसअघको बैठकमा प्रधानमन्त्रीले मोर्चासँग केही प्रश्न गरेका थिए। त्यसको जवाफै नसुनी स्थानीय तहको चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र लेख्ने सरकारको निर्णय ठीक भएन,' उनले नागरिकन्युजसँग भने।

उनले बिना संविधान संशोधन मोर्चा निर्वाचनमा जान नसक्ने बताए। बैठकमा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरु सहभागी हुनेछन्।

प्रकाशित: २१ माघ २०७३ ०७:०९ शुक्रबार

सहमति गर्न भन्दै प्रधानमन्त्रीले मोर्चाका नेतालाई बालुवाटार डाके