राजनीति

ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई 'बढ्ता फुरफुर नगर' भनेपछि सम्बाद सचिवालयले दियो यस्तो जवाफ

फाइल तस्वीर

पूर्वराजा ज्ञानेन्द्र शाहकाे सम्बाद सचिवालयले पूर्व युवराज्ञी हिमानी शाहले सामाजिक संजाल नचलाउने बताएकाे छ। 

सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक संजाल संचालन नगरेको जानकारी दिएकाे हाे।  

यस सम्बन्धमा दुई वर्ष अगाडी पनि सचिवालयले यस्तै विज्ञप्ति निकालेर जानकारी दिएको थियो।  सचिवालयले विज्ञप्तिमा भनेको छ, 'निराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन पनि अनुरोध गरेको छ।'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न भन्दै बिहिबार चेतावनी दिएका थिए।  हिमानी शाहको फेक ट्वीटर अकाउन्टबाट पोस्ट भएको सामाग्रीका विषयमा ओलीले राजपरिवारमाथी आक्रोश पोखेका थिए।  

हिमानीको नामको फेक ट्वीटर अकाउन्टमा जनताले केपी ओलीलाई ढुंगा हाने भन्दै ट्वीट भएको थियो। ओलीले त्यसैलाई आधार बनाएर इलामामा आयोजित एक कार्यक्रममा भने, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन्। अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे।'

‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’।  छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ‘हामीले धेरै हिसाब-किताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाब-किताब गर्नु नपरोस्,’ ओलीको चेतावनी थियो।

पूर्वराजपरिवारकाे नाममा सामाजिक संजालमा धेरै फेक अकाउन्टहरू सक्रिय छन्। 

प्रकाशित: १५ वैशाख २०८० ०८:४३ शुक्रबार

अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाह सम्वाद सचिवालय पूर्वयुवराज्ञी हिमानी शाह