राजनीति

पूर्व प्रधानमन्त्रीमाथि अभद्र व्यवहार गर्नु निन्दनीय: एमाले जिल्ला कमिटी

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाको बुधबारेमा कालो झन्डा देखाएर अभद्र व्यवहार देखाएको विरोधमा नेकपा एमाले जिल्ला कमिटी झापाले प्रेस विज्ञप्ति जारी गरेको छ।

अध्यक्ष ओलीलाई अपराह्न एक कार्यक्रममा जाने क्रममा कोशी प्रदेश नामकरणको विरोध गर्दै पहिचानवादीहरूले कालो झण्डा देखाएका थिए।

शान्तिपूर्ण विरोध गर्ने भने पनि प्रदर्शनकारीहरूले ओली र उनका सुरक्षामा खटिएका प्रहरीका सवारीमाथि ढुङ्गा प्रहार गरेपछि स्थिति केही बेर तनावग्रस्त बनेको थियो।

प्रेस विज्ञप्तिमा निर्वाचित ९० प्रतिशत प्रदेश सांसदहरूको समर्थनमा कोशी प्रदेश नामकरण गरिएको भएपनी अध्यक्ष ओलीप्रति अभद्र व्यवहार गर्नु निन्दनीय भएको उल्लेख छ।

साथै विज्ञप्तिमा त्यस्ता अराजक गतिविधि गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न र सुरक्षा प्रदान गर्ने क्रममा घाइते प्रहरीको उपचार गर्न माग गरिएको छ।

हेर्नुहोस् प्रेस विज्ञप्ति:

सम्माननीय पूर्व प्रधानमन्त्री तथा हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने नाममा झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजार क्षेत्रमा पहिचानवादीको ब्यानरमा आज गरिएको अभद्र व्यवहार खेदजन्य घटना हो। प्रदेश नम्बर १ लाई यहाँ निर्वाचित प्रदेशसभा सदस्यहरूको ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘कोशी प्रदेश’ नामाकरण गरिएको भन्ने कुरालाई चटक्कै बिर्सिएर सम्माननीय पूर्व प्रधानमन्त्रीमाथि अभद्र व्यवहार गर्नु निन्दनीय छ। हाम्रो पार्टी पहिचानवादीका नाममा गरिने यसप्रकारका अलोकतान्त्रिक र असभ्य चरित्रको घोर भत्सर्ना गर्दछ।

‘कोशी’ नाममा यस प्रदेशका सबै जातजातिको पहिचान अटाएको छ। धेरै जातजाति र पहिचान भएको ठाउँमा एकल जातीय पहिचानलाई समेट्नु भन्नु आफैंमा असान्दर्भिक तर्क हो। एकल पहिचान खोजेर राष्ट्रिय एकतालाई खलबलाउनु उचित हुँदैन। अझ प्रदेशको नाम संविधान बमोजिम जननिर्वाचित संसदको बहुमतले पारित गरेकोले यसको विरोधका नाममा हुलहुज्जत गर्नु ठिक नभएको हाम्रो निश्कर्ष छ।

यसैबीच, सम्माननीय पूर्व प्रधानमन्त्री तथा हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेहरुलाई रोक्नेक्रममा, कर्तव्य निर्वाहको शिलशिलामा केही प्रहरीहरु घाइते हुनुभएको छ। अध्यक्ष ओलीलाई आक्रमण गर्न खोज्ने प्रदर्शनकारीहरूले हानेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल मावोहाङ र सहायक हवल्दार सोमित राजवंशी घाइते हुनु भएको जानकारी पाइएको छ। उहाँहरुको उचित एवम् शीघ्र उपचारको ब्यवस्था गर्न सरकारसक्षम माग गर्दै विरोधका नाममा हुलहुज्जत गर्ने र सुरक्षाकर्मी माथि ढुंगा हान्नेलाई तत्काल पक्राउ गरी कडा कारबाहीका लागि जोडदार माग पनि गर्दछौं। 

दिपक कार्की, अध्यक्ष

नेकपा एमाले झापा जिल्ला कमिटी

मितिः २०८० वैशाख १३ गते

प्रकाशित: १३ वैशाख २०८० १५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App