राजनीति

झापामा ओलीलाई देखाइयो कालो झण्डा

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम स्थलमा प्रहरी र संघीय लोकतान्त्रिक मञ्च लिम्बुवानका समूहबीच झडप भएको छ।

बुधबार अध्यक्ष ओली झापाको बुधबारेस्थित एक कार्यक्रममा सहभागी हुन जाँदा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका सो समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेका थिए।

अध्यक्ष ओलीले सम्बोधन गर्ने झापा स्थित बुद्ध शान्ति गाउँपालिकाको कार्यक्रम स्थलतर्फ जाने क्रममा उनीहरूले कालो झण्डा देखाई ओलीको सवारी रोक्ने प्रयास गरेका थिए। सो क्रममा उनीहरूले अध्यक्ष ओलीको सवारी माथि ढुंगा मुडा प्रहार गरेपछि कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका सो समूह र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको हो।

आज झापामा प्रदर्शनमा उत्रिएकाहरूले ओलीलाई कालोझन्डा देखाउँदै नाराबाजीसमेत गरेका थिए।

प्रहरीका अनुसार झडपमा एक प्रहरी घाइते भएका छन्। उनकाे हाल झापा स्थित बि.एन.सी अस्पतालमा उपचार भइरहेको छ। कालो झन्डा देखाएको आरोपमा प्रहरीले ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले अवाञ्छित गतिविधि गरेको भन्दै नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले पार्टीद्वारा आयोजित सो कार्यक्रममा पार्टी अध्यक्ष ओली सहभागी कार्यक्रम बिथोल्ने, ढुंगामुडा गर्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन्।

उनले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला गर्ने, ढुंगामुडा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरे।

प्रदेश नम्बर १ को नाम गत फागुन १७ गते कोशी राखिएको थियो। पहिचानमा आधारित नाम नराखेको भन्दै विरोध भइरहेको छ।

प्रमुख सचेतक गिरीले आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने उल्लेख गर्दै यस्ता अवाञ्छित गतिविधिको विरोध गर्ने स्पष्ट पारे।

सो घटनाप्रति उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको तर्फबाट दुःख व्यक्त गर्दै उनले अराजक गतिविधि गर्न कसैलाई छुट दिन नसकिने चेतावनी दिए। उनले सो घटनामा दुई जना सुरक्षाकर्मी घाइते भएको बताए।

प्रकाशित: १३ वैशाख २०८० ११:३८ बुधबार