राजनीति

संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः अध्यक्ष ओली

चितवन– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताएका छन्।

प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक र राजनैतिक सङ्कट आउन नदिने पक्षमा एमाले रहेको बताए।

तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुन सकेन भने संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को समय सकिने भन्दै उहाँले संसद् सदस्य नरहेमा प्रधानमन्त्रीको पद रिक्त हुने बताए। पूर्वप्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्री वा सरकार बनाउन संस्था र प्रक्रिया चालु नभएका बेला काम चलाउ भन्न पनि नमिल्ने गम्भीर समस्या पैदा हुन्छ। त्यसकारण समयभित्रै निर्वाचन हुनुपर्छ, हामीले भनेका छौँ, हाम्रो सबैभन्दा बढी जोड मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट नआओस् भन्ने हो।”

समयमै निर्वाचन नभए नेपाली जनताले यस कुरालाई स्वीकार्न नसक्ने भन्दै उहाँले निर्वाचन घोषणा गर्नुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।

जटिलताको वहाना बनाएर निर्वाचन नगर्ने प्रयासहरु भइरहेको भन्दै उनले निर्वाचन नगराउन सम्भव नभएकाे बताए।
अर्काे एक प्रसङ्गमा अध्यक्ष ओलीले संविधान संशोधन अनावश्यक, अनुचित र हानिकारक भएको भन्दै यो प्रस्ताव देशको हितमा नरहेको विचार व्यक्त गरे। रासस

प्रकाशित: १५ माघ २०७३ ०७:१९ शनिबार

संवैधानिक राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः अध्यक्ष ओली