राजनीति

भूकम्पपीडितलाई दोस्रो किस्ता वितरण गर्न १२ अर्बको अख्तियारी

काठमाडौं—राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न बिहीबार दोस्रो किस्ताबापत रु ११ अर्ब ७५ करोड ५० लाखको अख्तियारी दिएको छ। 

प्राधिकरणबाट भूकम्पपीडितलाई दोस्रो किस्ताबापतको अनुदान वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र भूकम्पीय आवास पुनःनिर्माण आयोजनालाई उक्त अख्तियारी दिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले बताए। 

प्राधिकरणको बुधबार बसेको बैठकले दोस्रो किस्ता वितरणका लागि अख्तियारी दिने निर्णय गरेको थियो। पहिलो किस्ता पाइसकेर आधारभूत तहको निर्माण कार्य सम्पन्न गरिसकेका लाभग्राहीलाई दोस्रो किस्ताको अनुदान रकम वितरण गरिने पोखरेलले बताए। 

तत्कालका लागि दोस्रो किस्ताका रुपमा रु एक लाख ५० हजार भूकम्पपीडितलाई वितरण गरिनेछ। हालसम्म पहिचान भएका कुल लाभग्राहीको सङ्ख्या ६ लाख २६ हजार ३६ छ। रासस 

 

प्रकाशित: १३ माघ २०७३ १२:४९ बिहीबार

भूकम्पपीडितलाई दोस्रो किस्ता वितरण गर्न १२ अर्बको अख्तियारी