राजनीति

तनहुँ–१ः अघिल्लो पटक भन्दा पनि कम मत खस्यो

५२ प्रतिशत मत खसेको अनुमान

तनहुँ सदरमुकाम दमौली ल्याउँदै मतपेटिका। तस्बिरः नागरिक

उपनिर्वाचन भएको तनहुँ–१ मा ५२ प्रतिशत मत मात्र खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय तनहुँले अघिल्लो निर्वाचनमा भन्दा पनि कम संख्यामा मत खसेको बताएको छ।  

तनहुँका जिल्ला निर्वाचन अधिकारी हरि ढकालले ५२ प्रतिशत मत खसेको प्रारम्भिक आँकलन रहेको बताए। ‘प्रारम्भिक अनुमानमा ५२ प्रतिशत मात्र मत खसेको हाम्रो अनुमान छ। तर, सबैतिरका मतपेटिका नआएकोले यकिन भन्न सकिएन,’ ढकालले भने, ‘तर, अघिल्लो पटकको भन्दा कम संख्यामा मत खसेको हाम्रो बुझाई छ। मत कम खस्नुको कारण भने अहिले नै विश्लेषण गर्न सकिने अवस्था छैन।’

निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनमा त्यहाँ ५४.०३ प्रतिशत मत खसेको थियो। यो पटक पनि पहिलेकै आकारमा मत खस्ने अनुमान गरेको भएपनि त्यो हुन नसकेको उनले बताए। तनहुँ–१ मा एकलाख २३ हजार ३ सय ५ जना मतदाता थिए। शान्तिपूर्ण ढंगले तनहुँमा निर्वाचन भएको पनि ढकालले जानकारी दिए। ‘कुनैपनि अप्ठेरो नआई शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भयो,’ उनले भने।  

तनहुँमा निर्वाचन सकिएपछि मतपेटिका संकलनको काम सुरु भएको ढकालले बताए। उनका अनुसार सबैभन्दा टाढा पर्ने देवघाट गाउँपालिकाबाट मतपेटिका रातिसम्म सदरमुकाम दमौलीमा ल्याइने तयारी भएको छ। उनका अनुसार देवघाटको कोटा, बैदी, छिपछिपे लगायतका मतदान केन्द्र सबैभन्दा दुर्गम हुन्। त्यहाँ गाडी पुगेपनि भौगोलिक रुपमा आउजाउ सहज नभएको उनले बताए। 

‘सबै मतपेटिकालाई पोखरा–नारायणगढको गाइघाटमा झारेर मात्र दमौली ल्याउनुपर्दा राती अबेरसम्मको समय लाग्नेछ,’ उनले भने, ‘कम्तिमा चारघण्टाभित्र सबै मतपेटिका संकलन गर्ने योजना हो।’ मतपेटिका सदरमुकाम ल्याएपछि राजनीतिक दलको बैठक बसेर गणना सुरु गर्ने योजना रहेको उनले बताए।

तनहुँ–१ मा नेपाली कांग्रेसबाट गोबिन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टिबाट डा. स्वर्णिम वाग्ले चुनावी प्रतिश्पर्धामा छन। गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। त्यो बेला पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए। एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१, स्वतन्त्रका गोबिन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टिका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए।

कांग्रेस उम्मेदवार भट्टराइसँग स्पष्टिकरण माग

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँ–१ का कांग्रेस उम्मेदवार गोबिन्द भट्टराइलाई स्पष्टिकरण सोधेको छ। वैशाख ७ गते राती १२ बजेपछि (मौन अवधि सुरु भएपछि) प्रचारप्रसार गर्न नपाउने अवस्थामा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भट्टराईले मतदातालाई म्वाईस म्यासेज पठाएको भन्दै स्पस्ष्टिकरण सोधेको समितिले बताएको छ।  

भट्टराईलाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न समितिले निर्देशन पनि दिएको छ। मुख्य निर्वाचन अधिकृतको दमौलीस्थित कार्यालयमा आफै वा प्रतिनिधिमार्फत स्पष्टिकरण पेश गर्न पनि समितिले निर्देशन दिएको छ। जिल्लास्थित एकजना कांग्रेस कार्यकर्ताले फोनमा मत मागेर भट्टराईको भ्वाइस म्यासेज आएको बताए।

प्रकाशित: १० वैशाख २०८० १२:३१ आइतबार

तनहुँ–१ उपनिर्वाचन कम मत