राजनीति

सरकारसँग बजेट माग गर्न धरानका राजनीतिक दलहरु राजधानी प्रस्थान

आइतबार राजधानी प्रस्थान गर्नुअघि राजनीतिक दल तथा वडाअध्यक्षहरु पत्रकार सम्मेलन गर्दै। तस्बिर: रोहित राई

आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट माग गर्न धरानका राजनीतिक दल र केही वडा अध्यक्षहरु विभिन्न योजना बोकेर संघीय राजधानी प्रस्थान गरेका छन्।

धरानका प्रमुख राजनीतिक दलका नेता र आधा दर्जन वडाका अध्यक्षहरू आइतबार राजधानीतर्फ हिँडेका हुन्। उनीहरुले प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरुलाई भेटेर विकासका योजनाहरु बुझाउने र आगामी वर्षको लागि बजेट माग गर्ने बताएका छन्।

यसअघि गत चैत २० गते धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा पनि विभिन्न योजनाहरुको लागि बजेट माग गर्दै राजधानी गएका थिए।

पछिल्लो समयमा धरानका मेयर साम्पाङ र वडा अध्यक्षहरुबीच दुरी बढ्दै गएको बेला राजनीतिक दलका नेताहरु बजेट माग्दै राजधानी जानुलाई अर्थपुर्णरुपमा हेरिएको छ। राजनीतिक दलबाट निर्वाचित वडाअध्यक्षहरु र स्वतन्त्रबाट निर्वाचित मेयर साम्पाङबीचको विवादले कार्यपालिका बैठक बस्न सकेको छैन। 

मेयर साम्पाङको अभिव्यक्तिबाट राजनीतिक दलहरु पनि चिढिएका छन्। धरानको विकास निर्माणमा निर्वाचित जनप्रतिनिधिहरु र राजनीतिक दलहरुसँग मेयर साम्पाङको सहकार्य हुनुको साटो विवाद भइरहँदा नागरिक अगुवाहरू भने चिन्तित छन्।

राजधानी प्रस्थान गर्नुअघि नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेलले विगतमा पनि राजनीतिक दलहरु अलग अलगरुपमा संघीय राजधानी गएर विकासका योजनाहरुलाई बजेट माग गर्ने चलन भएको बताउँछन्। यसपालि भने राजनीतिक दलहरुबीच सहकार्य भएर संयुक्तरुपमा नै बजेट माग गर्न गएको उनले बताए।

उनका अनुसार सरकारसँग बजेट माग गर्ने योजनाहरु धरानको लागि मात्र नभएर सुनसरी निर्वाचन क्षेत्र नं १ कै विकासको लागि रहेको छ। राजधानी जाने टोलीमा एमालेका अध्यक्ष हर्कजङ एभेङ, नारायण सुवेदी, मीन सुब्बा, नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, माधव घिमिङ, माओवादी केन्द्रबाट फोक्वाहाङ सुब्बा (चोत्लुङ), जसपाका ताजुब लिम्बुलगायत छन्। यस्तै, वडा अध्यक्षहरुमा वडा नं १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), वडा १६ का अध्यक्ष मुरारी भट्टराई, वडा २० का अध्यक्ष पदम लिम्बु, वडा ९ का अध्यक्ष रुपेश आचार्यलगायत छन्।

यो टोलीले धरानको खानेपानी समस्या समाधान गर्न १० वटा डिप बोरिङलगायत पूर्वाधार विकासको लागी धरान खानेपानी व्यवस्थापन बोर्डलाई २० करोड बजेटको योजनालाई पहिलो प्राथमिकता दिएको छ। यस्तै, कोशी वा धरान–तमोर सुरुङ मार्ग तथा खानेपानी आयोजनाको लागि पनि यो टोलीले प्राथमिकताका साथ सरकारसँग बजेट माग गरेको छ। 

धरान रङ्गशाला फ्लड लाइट, प्याराफिट, बहुउद्देश्यीय कवर्ड हललगायत पूर्वाधार विकास गर्न, भक्तराज कन्दङ्वा क्रिकेट रङ्गशाला, धरान र बराह क्षेत्रको लागि सञ्चारग्राम निर्माण गर्न, पिण्डेश्वर क्याम्पसलाई बहुभाषिक विद्यालय कलेजमा विकास गर्न, धरान सहर क्षेत्रको विद्युत् प्रसारण लाइनलाई भूमिगत गर्न पनि बजेट माग गरेको छ।

यसैगरि, कोशी नदी, बराह क्षेत्र, चतराधाम क्षेत्रमा तटबन्ध निर्माण गर्न, सर्दु र सेउती खोला तटबन्धन गर्न, धरान ५ र १७ मा प्रादेशिक प्रदर्शनी केन्द्र स्थापना गर्न, वीपी पार्कको गुरुयोजना बमोजिम बजेट दिन, नाटक घर निर्माण, सप्तरङ्गी पार्क पूर्वाधार विकास गर्न, चतरा बराह क्षेत्रको पूर्वाधार विकास गर्न, बहु जातीय संग्रहालय निर्माण गर्न, धरान २० मा दलित संग्रहालय निर्माण गर्न, विजयपुर दरबार क्षेत्र संरक्षण गर्न पनि बजेट माग गरिने कांग्रेस सभापति पोख्रेलले बताए।

यस्तै, धरान विमानस्थलको जग्गा व्यवस्थापन गर्न, बीपी प्रतिष्ठानको शिक्षक, कर्मचारीको वृत्ति विकास तथा एमआरआई मेशिन खरिद, कार्डियोलोजी र अंकोलोजी सेन्टर स्थापना, आइसियु र डायलाइसिस सेवा विस्तार गर्न पनि बजेट माग गरिने भएको छ। 

माओवादी नेता चोत्लुङले भने, ‘धरानको विकास सबै मिलेर नै गर्ने हो। त्यसैले हामी सबै दल एकजुट भएर योजनाहरु बोकेर राजधानी जादैछौं। योभन्दा अघि मेयर, उपमेयर पनि जानुभएको थियो, अहिले हामी पनि जादैछौं, धरानकै विकासको लागि हो।’

प्रकाशित: १० वैशाख २०८० १२:१२ आइतबार

धरान बजेट