राजनीति

नेपाल-भारत सम्बन्ध मजबुद बनाउने काम चुनाैतीपूर्ण: राजदूत राय

काठमाडौं–नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने  विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि बताए। द्विपक्षीय सम्बन्धमा समय समयमा केही समस्याहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै राजदूत रायले भने,‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन्, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेण्डमा अघि बढाउनुपर्छ।’

बुधबार रिपोर्टस् क्लबले आयोजना गरेको कार्यक्रममा राजदूत रायले नेपाल–भारत द्विपक्षीय सम्बन्ध अब सामाजिक, साँस्कृतिक, धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने बताए। ‘अबको हाम्रो सम्बन्धनको आधार नै आर्थिक एजेण्डा बनाउनुपर्छ, काँधमा काँध मिलाएर कसरी विकास र आर्थिक समृद्धिको बाटोमा हिड्न सकिन्छ भनेर सोच्नुपर्छ,’ उनले भने।
नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यै हस्तक्षेप नगरेको दाबी गरेको गरे। नेपालमाथि हस्तक्षेप गरेर भारतलाई  कुनै फाइदा नभएको उल्लेख गर्दै राजदूत रायले नेपालमा अस्थिरता भए भारतलाई के फाइदा हुन्छ भन्दै प्रश्न गरे।

उनले भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको इतिहास सुनाए। ‘काठमाडौंका केही राजनीतिक भाषणमा यस्तो कुरा सुनिएपनि नेपाली जनतामा यस्तो विरोधी भावना छैन’, उनले भने।

नेपाल–भारत सम्बन्ध देश–देशवीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिवीचको सम्बन्ध भएको बताउँदै उनले भने, ‘नेपाल–भारत द्विपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१ औं शताब्दी अनुसार द्विपक्षीय झढ प्रगाढ बनाउनुपर्छ।’

उनले नेपाल–भारत सम्बन्ध आर्थिक साझेदारीका साथ अघि बढिसकेको दाबी गरे। ‘आर्थिक साझेदारीका सुरुवातहरु भैसकेका छन्, पञ्चेश्वर महायोजनाको कार्यान्वयन हुँदैछ, यसको डिपीआर अन्तिम चरणमा पुगेको छ, यही वर्षको मध्यतिर यो महायोजना लागु हुन्छ, यो लागू हुनेवित्तिकै सुदुरपश्चिममा मात्रै नभएर पूरै नेपालमै विकासको तरँग पैदा हुन्छ।’
उनले विकास साझेदारीको लागि पिटीए र पीडिए समेत भैसकेको स्पष्ट पारे। उनले नेपाल–भारत सम्बन्धमा राजनीतिक सम्बन्धको कुरा गर्ने हो भनेपनि यो वीचमा उच्च स्तरीय द्विपक्षीय भ्रमणहरु भएको बताउँदै भने,‘नेपालका सम्माननीय प्रधानमन्त्री प्रचण्डजी दुई पटक भारत भ्रमणमा जानुभयो, परराष्ट्र डा. प्रकाशशरण महत पनि जानुभएको छ, त्यसैले द्विपक्षीय सम्बन्ध थप मजबदु बनाउने प्रयास भैरहेको छ।’ उनले साँस्कृतिक तथा आर्थिक रुपमा पनि नेपाल–भारत सम्बन्ध तिव्र गतिमा अघि बढाउने प्रयासहरु भैरहेको जनाए।

प्रकाशित: १२ माघ २०७३ १०:०५ बुधबार

नेपाल-भारत सम्बन्ध मजबुद बनाउने काम चुनाैतीपूर्ण राजदूत राय