राजनीति

बारा ,चितवन र तनहुँमा आज उपनिर्वाचन

प्रतिनिधिसभा सदस्यका लागि आइतबार विभिन्न तीन जिल्लाका तीनवटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि आवश्यक सबै तयारी मिलाइएको निर्वाचन आयोगले जनाएको छ।  

बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुने भएकाले ती क्षेत्रमा आइतबार अत्यावश्यक बाहेक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन आफू दृढ संकल्पित रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले भनेको छ, ‘उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछ।’

नागरिकतासम्बन्धी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो। उनी गत मंसिरमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। लामिछानेको नागरिकताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको फैसलाले उनको सांसद पद गुमेको हो। उपनिर्वाचनमा लामिछाने पनि प्रतिस्पर्धामा छन्।  

चितवन २ मा लामिछानेसँगै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपानेसहित प्रतिस्पर्धामा छन्। त्यस्तै प्रतिनिधिसभा सदस्यमा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट चुनिएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको हो। तनहुँ १ मा कांग्रेसले केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। उनलाई सत्ता गठबन्धन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलको समर्थन छ। तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। कांग्रेसको राजनीति गर्दै आएका वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी उम्मेदवार भएका हुन्। 

तनहुँ १ मा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ। पूर्वप्रहरी महानिरीक्षक खनाल गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार भए पनि पराजित भएका थिए। बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको हो। त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलसहितका उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित: १० वैशाख २०८० ००:५८ आइतबार

उपनिर्वाचन बारा २ चितवन २ तनहुँ १