राजनीति

रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न सकेन: सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद्को समयमा खोज तथा उद्धारदेखि विपद्को क्षति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न नसकेको बताएका छन्।

आज नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सामाजिक कार्यमा अगाडि बढ्ने रेडक्रस पारदर्शीकै कुरालाई लिएर चर्को विवादमा आउनु दुःखद् भएको बताएका हुन्।

रेडक्रसमा पारदर्शी ढङ्गले काम नभएको, विभिन्न खालको स्वार्थमा रुमल्लिएको भन्दै उनले छिट्टै यस्ता समस्याको समाधान गरी अगाडि बढ्न नसके अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको छवि बिग्रने उल्लेख गरे।

सभामुख घिमिरेले रेडक्रसको विवादबारे अध्ययन र अनुसन्धान गर्न विदेशी टोली नेपाल आएर काम गरिरहेको अवस्थामा रेडक्रसकर्मी सबैले विवादलाई हल गर्न एकजुट भएर सघाउनुपर्नेमा जोड दिए। रासस

प्रकाशित: ९ वैशाख २०८० १६:१५ शनिबार

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे