राजनीति

चुनावको तयारी थाल्नू : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जेठ १५ गतेसम्म स्थानीय तहको निर्वाचन गर्ने किसिमले तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन्। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसँग सोमबार भएको भेटमा प्रधानमन्त्री दाहालले जेठ दोस्रोसातासम्म निर्वाचन गर्ने प्रमुख दलबीच सहमतिबमोजिम माघ १५ गतेभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको जानकारीसमेत गराएका छन्।

दाहालले स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलबीच सहमति भइसकेको, निर्वाचन कानुन पारित हुने प्रक्रियामा रहेको र निर्वाचनको विपक्षमा रहेका मधेसी दलसँग पनि सहमति प्रयास भइरहेको जानकारी गराएका थिए। गत शनिबार प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच जेठ १५ गतेसम्म स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको थियो।

निर्वाचन आयुक्त इला शर्माले प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच स्थानीय तहको निर्वाचनका विषयमा परामर्श भएको जानकारी दिइन्। 'जेठ १५ सम्म स्थानीय तहको निर्वाचनका लागि स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, निर्वाचन सम्बन्धी कानुन पारित गरेर यही माघ १५ भित्र निर्वाचनको मिति घोषणा गर्ने जानकारी प्रधानमन्त्रीले गराउनुभएको छ,' आयुक्त शर्माले नागरिकसँग भनिन्, 'आयोगको तर्फबाट निर्वाचनका लागि मिति, ऐन टुंगो लागिसकेपछि चार महिना आवश्यक पर्ने प्रमुख आयुक्तले प्रधानमन्त्रीलाई स्मरण गराउनुभएको छ।'

सरकारले माघ १५ भित्रै निर्वाचन मिति घोषणा गरे जेठ १५ सम्म निर्वाचन गर्न सकिने आयुक्त शर्माले जानकारी दिइन्।

अबको पाँच दिनसम्म सरकारले स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याएर, निर्वाचनसम्बन्धी ऐन पास गरिसक्नुपर्ने र मिति घोषणा गरिसक्नुपर्ने शर्माले बताइन्। आवश्यक ऐनमध्ये व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिले दुइटा विधेयक सोमबार पारित गरिसकेको छ।

प्रधानमन्त्रीका पे्रस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीचको भेटमा निर्वाचनका सम्बन्धमा कानुनी एवं प्राविधिक पक्षका विषयमा छलफल भएको बताए। 'जेठ १५ सम्म स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेकाले सम्भव छ/छैन भन्ने विषयमा प्रधानमन्त्रीज्यूले परामर्श गर्नुभएको हो,' आचार्यले नागरिकसँग भने।

प्रधानमन्त्रीसँगको भेटपछि प्रमुख निर्वाचन आयुक्त यादव सोमबारै दिल्ली प्रस्थान गरेका छन्। मतदाता दिवसका अवसरमा भारतीय निर्वाचन आयोगले गर्न लागेको कार्यक्रममा भाग लिन उनी दिल्ली प्रस्थान गरेका हुन्। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार भ्रमणका क्रममा प्रमुख आयुक्त यादवले भारतीय निर्वाचन आयोगसँग एक समझदारीपत्रमा हस्ताक्षरसमेत गर्नेछन्।

निर्वाचनको मिति घोषणा गर्न सरकारले सक्रियता बढाइरहेका वेला संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद् पठाउने अन्तिम तयारी गरेको छ। संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले प्रतिवेदन कार्यान्वयनमा पठाउन सबै तयारी पूरा भइसकेको जनाउँदै प्रधानमन्त्रीसँग सल्लाह गरेर प्रतिवेदन कार्यान्वयनका निर्णय गराउन मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको जानकारी दिए। 'पुनःसंरचना आयोगले दिएको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरिरहेका छौं,' मन्त्री पाण्डेले नागरिकसँग भने, 'यो कार्यान्वयनमा आएपछि सबैसँग परामर्श गरेर निर्वाचनको मिति घोषणा हुन्छ।'

प्रकाशित: ११ माघ २०७३ ०२:१५ मंगलबार

चुनावको तयारी थाल्नू प्रधानमन्त्री