राजनीति

सदनमाथि सरकारको हालीमुहाली बन्द गरौँ: सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालीमुहाली बन्द गर्न आग्रह गरेकी छिन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालीमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गरेकी हुन। 

उनले मङ्गलवार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित गरिएकोप्रति असन्तुष्टि जनाइन्। उनले जनप्रतिनिधिको समयको केही मूल्य नहुने हो भनी प्रश्न समेत गरिन्। 

सांसद श्रेष्ठले संसद् र मन्त्रिपरिषद् दुई निकायबिच समन्वय गर्न नसक्नेले धेरै मन्त्रालयका बीचमा समन्वय गर्ने खालको काम कसरी गरिएला? भनेर प्रश्न गरिन।

उनले भनिन, ‘हिजोको अधिवेशन आकस्मिक रूपमा स्थगित भयो। क्याबिनेट मिटिङ ४ बजे छ भन्ने सुन्नमा आयो। समय नजुध्ने गरी समय मिलाउन सक्दैनथ्यो यो दुई वटा बैठकहरूको। आम नागरिकले सरकारी कार्यालयमा सबै कागजात प्रक्रिया पुयाएर घण्टौँ लाइन बसे पनि अचानक आज काम हुँदैन भोलि आउनुस् भन्छन्। त्यसरी जनतालाई व्यवहार गरिने देश हो यो हाम्रो। यहाँ जनताको समयको मूल्य छैन।’

उनले जनताबाट छानिएर आएका प्रतिनिधिको समयको मूल्य नभएको भन्दै आक्रोश व्यक्त गरेकि थिइन्। ‘हामी जनप्रतिनिधि, जनताबाट छानिएर आएको प्रतिनिधिको समयको पनि केही मूल्य नहुने हो? एक पटक सदन बस्दा १० लाख रुपैयाँ हाराहारीमा खर्च हुने भनेर पत्रपत्रिकामा आएको थियो। सरकारले कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्थामा के यो दश लाख रुपैयाँ हामीले बचाउन सक्दैनथ्यौँ? के करदाताको पैसा त्यति सस्तो छ? आफ्नो खल्तीबाट पैसा नजाने भएपछि मलाई बाल भन्न पाइन्छ र? मलाई निकै अचम्म लागेको छ। यसरी अन्तिम घडीमा सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने रहेछ’, सांसद श्रेष्ठले भनिन।

उनले थपिन, ‘यो त चलनचल्ती र रीति नै बसिसकेको रहेछ। कसरी पचेको हामीलाई? गल्तीलाई गल्ती भनौँ। सुधारौँ। सदन र मन्त्रीपरिषद् जम्मा दुई वटा निकायबिच समन्वय गर्न नसक्ने हामी ठुलो परियोजनामा धेरै मन्त्रालय र निकायबिच समन्वय झन् कसरी होला? सडक विभागले आज पिच गर्छ। भोलि खानेपानीले गएर पिच बिगार्छ। बाटो चाहिँ घाम लागे धुलो, पानी परे हिलो। अनि बिरामी हुने हामीहरू। सदनमाथि सरकारको यस्तो हालीमुहाली बन्द गरौँ।’

सांसद श्रेष्ठले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने गरिएको पनि बताइन्।

प्रकाशित: ६ वैशाख २०८० ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App