राजनीति

राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलनबाट बडार्न जरुरी: नेता खनाल

फाइल तस्बिर।

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले अहिले पनि पुनः उत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी रहेको बताएका छन्।

बुधवार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

कार्यक्रममा उनले जनताको बहुदलिय जनवाद भनेको पुँजीवादी यथा स्थितिवाद रहेको बताए। उनले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने उल्लेख गरे।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरुसँग वैचारिक संघर्षहरु गर्नुपर्ने उनको भनाइ थियो। उनले दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति सम्भव नरहेको जिकिर गरे।

नेता खनालले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु अर्को चुनावमा पहिलो विद्यार्थी पार्टी बन्ने दाबी गरेका छन्।

प्रकाशित: ६ वैशाख २०८० १०:२२ बुधबार

झलनाथ खनाल