राजनीति

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

धनकुटा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन् । उनले सरकार कतिबेला दुघर्टनामा पर्ने हो टुंगो नभएको बताए ।

एमाले धनकुटाको बृहत कार्यकर्ता भेलालाई बुधबार संबोधन गर्दै अध्यक्ष ओलीले ५ नं. प्रदेश टुक्र्याउनको लागि ल्याएको संशोधन प्रस्ताव फिर्ता नगरी सुख नहुने बताए । 
‘साँढेले अलिक समय भित्ता हान्छ, सिङमा माटो लाग्छ, भुई खोस्रिन्छ, खुर दुख्छ र बल्ल सिंघुरी खेल्न छाड्छ,’ ओलीको व्यंग्य थियो ‘यो सरकारका कृयाकलाप पनि साँढेकै जस्तो छ ।’ 

एमाले अहिले संविधान संशोधन नगरी चुनाव गराउने पक्षमा रहेको र राजनीतिक संकट नआउने गरी चुनाव गराएर छाड्ने ओलीले दाबी गरे । 

‘मधेसमा एमालेलाई बाजा बजाएर खेदाउने उर्दी छ भन्ने सुनेको छु,’ ओलीले भने ‘म चुनौती दिन्छु उनीहरुलाई, फागुन २१ गतेदेखि तराईमा बाजा बजाएर एमालको अभियान चल्नेछ ।’ ओलीले थपे ‘त्यतिबेला साथीहरु लुकेर नबस्नु होला, एमाले ‘गाइ कि त्रिशुल’ गरेर बनेको पार्टी होईन ।’

प्रकाशित: ५ माघ २०७३ १३:११ बुधबार

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली